वरिष्ठ आख्यानकार दीक्षितसँग कुराकानी

पदम गौतम

 

०६९ को मध्य हिउँदमा म वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको निवास कालिकास्थान पुगेँ । त्यसो त मेरी हजुरआमाको उमेरका उनीसँग मेरो प्रत्यक्ष भेटघाट पहिलो थिएन । तैपनि मैले उनीसँग राम्ररी कुराकानी गर्ने मौका पाएको थिइनँ । उनी एकेडमीमा हुँदा ससाना कुराका विवाद मैले पनि अखबारमा नकारात्मक समाचार बनाएर लेखेको थिएँ र म सम्पादक रहेको वन्दना साहित्यिक पत्रिकामा उनीबिरुद्ध दाहाल यज्ञनिधिले लेखेको गाली छापेको थिएँ । ती सबैप्रति पश्चाताप त थिएन तर तिनै काम अलिक अनुसन्धानसहित गरेको भए राम्रो हुन्थ्यो भन्नेचाहिँ मलाई लागिरहेको थियो । पछिल्लो भेटघाटको समयमा म नागरिक दैनिकको शनिबारे अंकमा लेख्ने गर्थेँ । त्यहीँ अन्तर्वार्ता छाप्ने र दीक्षितसँग मन लागुन्जेल कुरा गर्ने मेरो मनसाय थियो । नभन्दै अन्तर्वार्ताको दिन र त्यसपछि गरेर म पाँच पटकजति उनलाई भेट्न गएँ . मदनणिसँग पदम गौतमको कुराकानी

आफैं लेख्न छोडेर डिक्टेट गराउन थाल्नुभएको कति भयो ?
वि.सं २०२२ सालमा ‘समीक्षा’ पत्रिका निकाल्दा मैले एउटा लेख पाएँ । विचार र अक्षर दुवै हिसाबले त्यो लेख एकदमै राम्रो थियो । उनलाई कसरी यति राम्रो अक्षर लेख्नुभएको भन्दा उनले मैले आफूले बोलेर लेखाएको मात्र हुँ, लेखेको हैन भनेपछि मैले पनि त्यसैगरी सहयोगी पत्रकार शंकर लयाललाई डिक्टेसन गराएर लेख्न थालेँ । हातले लेख्दा पनि म अरूको नक्कल गर्दागर्दै सोझो डिको तान्दिनथेँ । पछि डिक्टेसन गराएर यसरी लेख्ने बानी नै प¥यो । अहिले त सबै नै यसैगरी लेख्छु, लेखाउँछु । बानी नै यस्तै भएपछि जे लेखे पनि यसैगरी लेख्नुपर्ने अवस्था छ । अहिले ४ वर्षयता त स्वास्थ्यका कारणले पनि आफैं लेख्न सक्दिनँ ।

तपाईंले कुन उमेरमा र केबाट प्रेरित भएर लेख्न थाल्नुभयो ?
मेरो साहित्य लेखनको तीन चरण छ । सन् १९४१ मा बनारसमा भागवत् गीताको पहिलो अध्यायको व्यंग्य अनुवाद गरेको थिएँ । त्यसपछि १९४३ मा हिन्दीमा अज्ञात प्रेमिकालाई सातवटा रसात्मक प्रेमपत्र लेखेँ । ती चिठी डरले च्यातेर फ्याँके पनि एउटा मेरी दिदीको हात परेछ । पछि त्यो चिठीले श्रीमतीसँग मेरो झगडा पनि गरायो । यसपछि १९४८ मा वीरगन्जमा पढाउँदा मैले दासप्रथा उन्मूलनबारे दासत्वमोचन भन्ने एकांकी नाटक लेखेँ । तर राणाशासनको समयमा देखाउन चाहिँ पाइएन ।
यी तीनवटापछि चाहिँ मैले सन् १९५० मा पार्टीमा लागेपछि र पत्रकारिता थालेपछि लेख्ने र पढ्ने क्रममा आलोचना, राजनीतिक लेखन र अन्य साहित्य लेखेँ । जता गए पनि डायरीमा लेखेर बोकेर हिँड्ने गर्थें ।

तपाईंको विचारमा साहित्यमा कति कल्पना र कति सत्य वा यथार्थ हुन्छ ?
साहित्यमा जे लेखिए पनि त्यसमा रसात्मकता थप्ने काम कल्पनाले गर्छ । कल्पनाविहीन साहित्य रुखो र अरुचिकर हुन्छ । साहित्य यथार्थभन्दा फरक हुँदैन तर कल्पना यसमा जोडिन्छ ।

साहित्यमा वाद वा विचारमा केन्द्रित हुनु भएन ?
जानेर विचारका पछाडि लाग्नु दिगो होइन भन्ने मलाई लाग्यो, अहिले पनि त्यस्तै लाग्छ । निकै चर्चामा आएको लीलालेखनसमेत अहिले सेलायो । अझ तेस्रो आयाम त कहाँ पुग्यो कहाँ ? २० वर्षअगाडि आएको उत्तर आधुनिकतावाद कता हरायो हरायो । त्यसैले म वादको पछि दौडिनँ ।
पहिला छापिएको तपार्इंको कृतिचाहिँ कुन हो ?
२०२१ सालमा छापिएको ‘कसले जित्यो कसले हा¥यो’ भन्ने आठवटा कथाको संग्रह हो । यसका कथामा ९४ सालमा बाजेसँग बुद्धिचाल खेल्दाको अनुभवलाई प्रतीक बनाएको थिएँ । मलाई यी कथाहरू निकै मन पनि परेका थिए । त्यसपछि ‘हाम्रा ती दिन’ भन्ने संस्मरण निकालेँ । त्यसपछि ‘माधवी’ निकालेँ ।

‘माधवी’ त साधारण पाठकका लागि हैन नि, हो र ?
यसको जवाफ दिन साहित्यबारेका दुईवटा विचारलाई हेनुपर्ने हुन्छ । पाठकको रुचिअनुसार नभएर समयको चित्र ल्याउने प्रयास माधवीमा गरेको कारण त्यसमा  अहिलेको भाषा, शैली र प्रस्तुतिले काम गर्दैनथ्यो । वैदिक समयको भाषा र जीवन आउनुपर्ने भएकोले पनि त्यो किताबको लेखाइ जटिल भएको टिप्पणी आएका हुन् । यो स्वाभाविक नै हो । ऋग्वेद र वैदिक समयको भाषा र जीवन अहिले सबैले कहाँ बुझ्ने र ? मैले त्यो  किताबका लागि कौटिल्यको अर्थशास्त्रबाट २ सय ५२ शब्द लिएको छु । अर्को कुरा त्यो समयमा प्रयोग हुने वस्तु पनि त त्यसमा ल्याएको छु मैले । उदाहरणका लागि माधवीमा शिकारीले प्रयोग गरेको बन्चरोको बनावटलाई लिन सकिन्छ । त्यहाँ ईशापूर्व १३ सयमा प्रयोग हुने बन्चरो प्रयोग गरिएको छ । मैले सबै व्याख्या गर्ने कुरा भएन ।

केही मान्छेले माधवीलाई दक्षिण एसियाली सभ्यताकै महान् किताब पनि भनेका छन् । तपाईं आफंै पाठक बनेर हेर्दाचाहिँ कस्तो लाग्छ ?
समग्रमा भन्दा मलाई पनि माधवी स्तरीय कृति हो भन्ने लाग्छ । मैले मराठी, बंगाली, हिन्दी भाषाका धेरै साहित्य  पढेको छु , अंग्रेजीमा त यस विषयमा लेखिएको नै छैन । प्राचीन विषयमा लेखिएका धेरै किताब छन् तर ती सबै आधुनिक आँखाले हेरेर अहिलेकै भाषामा लेखिएका मात्र छन् । मैले प्रज्ञामा आफू रहेको समयमा भारत भ्रमणमा जाँदा भारतीय लेखक भीष्म साहनीको त्यही कथानकमा लेखिएको माधवी नाटक पढेर उनलाई पनि माधवीमाथि अन्याय गरेको कुरा भनेँ । उनलाई मैले माधवीलाई फ्रेन्च ‘सी फँ’ सारी लगाइदिएजस्तो भयो भन्दा उनले हाँस्दै साहित्यमा यस्तो भइहाल्छ नि भने । माधवीको पात्र गालव विश्वामित्रको चेला थियो । ऊ कोशी किनारबाट बाग्मती किनारसम्म आउँदा ठाउँठाउँमा ऋतुदान गर्दै महिलालाई गर्भवती बनाउँदै हिँड्छ  । बरु यसमा कसैले प्रश्न उठाएका छैनन् ।
आफैं भनि दिनोस् न त, त्यो बेला सेक्स त्यति फ्री थियो त ?

त्यो बेला बिवाह पद्दति नै शुरु भएको थिएन, पारिवारिक प्रणाली त के त्यसको अवधारणा शुरु भएकै थिएन । मान्छे सुरक्षाका लागि मात्र घर र समाजमा बस्थ्यो ।
नेपाली साहित्यको स्तर चाहिँ विश्व साहित्यसँग तुलना गर्दा कस्तो छ भन्ने लाग्छ तपाईंलाई ?
नेपाली साहित्यलाई विश्व साहित्यसँग तुलना गर्ने र अनेक टिप्पणी गर्ने गरेको पनि देखिन्छ । मेरो विचारमा हरेक मुलुकको साहित्यको आफ्नै स्थान र महत्व हुन्छ । हिमालको उचाइ नापेजस्तो हुँदैन साहित्यमा । त्यसरी हेर्दा विश्व साहित्य भन्ने हुँदैन । बालकृष्ण समका चीसोचुल्हो र प्रेमपिण्ड नेपाली मौलिकता पनि भएका निकै गतिला कृति हुन् । बालकृष्ण जतिको नभए पनि देवकोटा र उनको मुनामदन पनि हाम्रा सम्पत्ति हुन् । नयाँ किताबहरू चाहीँ मलाई  निकै कमले मात्र छुन्छन् ।

तपाईं त हरेक कुरालाई दार्शनिक ढंगले हेर्नुहुन्छ होला । समय र सभ्यता गोलो अर्थात् फेरि फर्किएर आउने हुन्छ कि नफर्किने किसिमको हुन्छ ?
मलाई कति पत्रकार र जिज्ञासुहरूले हरेक कुरालाई दार्शनिक ढंगले हेर्नुहुन्छ होला भनेर बिभिन्न प्रश्न पनि गर्ने गरेका छन् । समय र सभ्यता गोलो अर्थात् फेरि फर्किएर आउने हुन्छ कि नफर्किने किसिमको हुन्छ भन्ने प्रश्न केहीले गर्ने गर्छन् । यसबारे एर्नड टोयरुबी भन्ने लेखकले चाहिँ समय गोलो छ भनेका छन् । तर म त्यसमा सहमत छैन । हरेक नयाँ सभ्यता पहिलाको भन्दा माथि जान्छ र उन्नत हुन्छ भन्ने मलाई लाग्छ । तर यो घुमेर फर्किएर आउने खालको हुँदैन ।
अहिले मानव सभ्यताको विनासका कुरा पनि निकै जोडसँग आएका छन् । यस सन्दर्भमा भन्नुपर्दा…?
यो सौर्यमण्डलमा हुने परिवर्तनसँग सम्बन्धित कुरा हो । लाखौं बर्षमा यस्ता परिवर्तन भएका पनि छन् । तर कहिले के हुन्छ भन्ने समय मानिसले तोक्न सक्दैन र मिल्दैन पनि । पाल्पा र रामदीको बीचमा २ हजार फिट अग्लो ठाउँको डाँडामा नदीले बगाएर ल्याएको शालिग्राम हेरेको छु म आफैंले । अर्को चाहिँ २०२१ सालमा तुलसी गिरी प्रधानमन्त्री हुँदा चितवन र नवलपरासीको सीमा क्षेत्र त्रिवेणी गुफा नजिकै डाँडामा हात्तीको ‘फोसिल’ देखियो । यस्ता सामान्य घटनाले म त्यस्तो निश्कर्षमा पुगेको हुँ । ती वस्तुहरू चुरे पहाडभन्दा पनि पहिलाका हुन् ।

तपार्इं त पूर्व कम्युनिष्ट कार्यकर्तासमेत हुनुहुन्छ । कम्युनिष्ट कसरी बन्नुभएको थियो ?
मैले कम्युनिष्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणि चाहिँ पहिला नै कम्युनिष्ट थिए । २००७ सालको पुसमा एक दिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिष्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपनि बिपी कोइरालाले नेपाली कांग्रेसमा बोलाउनु भयो । म नगएपछि मेरो ठाउँमा उहाँले तुलसी गिरीलाई राख्नुभयो । लामो समय लागेपछि २०४२ सालतिर मैले कम्युनिष्ट छाडेँ ।

कसरी र किन कम्युनिष्ट छाड्नुभयो त ?
त्यो बेला एक दिन म हालका एक जना ठूला कम्युनिष्ट नेताको घरमा गएको थिएँ । त्यहाँ उनले छोराले लेखेको चिठ्ठी पढेर अनेकौं दुःख र गुनासो लेखिएको सुनाए । अर्का हालका माओवादी नेता हामीलाई भेट्न आउन लाग्दा उसलाई अर्को कोठाबाटै फर्काउँछु है भन्दै चिठ्ठी त्यहीँ छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठ्ठी त्यसरी हेर्ने गरेको त थिइनँ तर त्यस दिन त्यो चिठ्ठी आफैं पढ्न मन लाग्यो । तर मैले पढ्दा त्यहाँ त्यस्तो दुःखको कुरा एक शव्द पनि लेखिएको थिएन । यो बनावटी र पाखण्डी कुराले मलाई निकै दुःखी बनायो । ती नेतालाई मैले नै कम्युनिष्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिष्ट रहन सकिनँ ।

नेपालमा कम्युनिष्टहरू किन सधैं ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएका होलान् ?
मेरो बिचारमा संघर्षले खारिएका मान्छे कम्युनिष्ट आन्दोलनमा नलागेकै कारण त्यसो भएको हो । त्यसबाहेक युवा जोशमा नाराबाट आकर्षित भएर कम्युनिष्ट बन्ने र पछि विचार नै छाड्ने कारणले पनि यस्तो अवस्था आएको होला । हामी कम्युनिष्ट बिचारधाराप्रति आकर्षित भएको समयमा राज्यले जे गरोस् भन्थ्यौं अहिले अमेरिकाले सबै त्यही गरिरहेको छ आफ्ना नागरिकप्रति । त्यसैले विकास र जनतालाई खुसी राख्ने प्रणाली आएमा जनतालाई व्यवस्था र नाम ठूलो कुरो होइन जस्तो लाग्छ । कम्युनिज्म चाहिँ निकै टाढाको बिषय हो ।

अनि, नारीप्रति तपाईंको दृष्टिकोण चाहिँ के हो ?
मेरो बिचारमा नारी सक्रिय र सहभागी नभएको व्यवस्था र समाजमा भएको परिवर्तन दिगो हुँदैन । मैले गन्दा २०३६ सालको जनमत संग्रहको समयमा कांग्रेसको कार्यक्रममा लागेका हजारौं मान्छेको जुलुसमा २१ जना महिला मात्र थिए । ६ महिनापछि पाल्पामा एउटा कार्यक्रमको शुरुमा १५ सय जना सहभागी भएकोमा साढे ६ सय महिला थिए । अहिले हरेक सार्वजनिक कार्यक्रममा नारीको संख्या लगभग बराबरी छ । नारी जाति क्रान्तिबाट पर बसेमा त्यो क्रान्ति पूरा हुँदैन ।

नारीप्रति तपाईं बढी नै आशक्त हुनुहुन्छ भन्ने आरोप छ नि ?
(हाँस्दै ) हैन, यो सरासर गलत आरोप हो ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com