मृगस्थलीका एक तपस्वी

शेखर खरेल

 


स्वास्थ्ले साथ दिँदासम्म प्राध्यापक डीपी भण्डारी पाशुपत क्षेत्रको प्रात ः रमणमा निस्कनुहुन्थ्यो र ब्रम्हमूर्हतमा शीतले भिजेका दुबोका चौर छिचोल्दै र लामा ढुंगे सिँढिहरू उक्लँदै मृगस्थली पुग्नुहुन्थ्यो । मृगस्थलीलाई घामका कलिला किरणहरूले चुम्दै गर्दा भण्डारी सर एक जेन दार्शनिकझैं गहन चिन्तन र चेतनाप्रवाहमा हेलिइसकेको हुनुहुन्थ्यो । सरको  मृगस्थली चिन्तन एउटा लामो खण्डसम्म नित्य रह्यो । र, यसै चिन्तनको परिणति हो, नेपाली साहित्यको एक अप्रतीम निवन्धाकृति ‘मृगस्थली’ । नेपाली निबन्धको नागबेली बाटोका एकाध चौताराहरूमध्ये ‘मृगस्थली’ एउटा फराकिलो बिसौनी हो ।
मृगस्थलीयता भण्डारी सरले अन्य तीन निबन्धाकृतिहरू प्रकाशन गरेर नेपाली निबन्धकारितालाई सम्बृद्ध बनाउनु भएको छ । तर, मजस्ता असंख्य भण्डारी सरका शिष्य एवं प्रशंसकहरू उहाँबाट एउटा साङ्गोपाङ्गो आत्मकथा प्रकाशन होस् भन्ने चाहना राख्दै आएका छौं । जुन, उहाँको स्मृतिक्षयका कारण अब सम्भवजस्तो देखिँदैन । ‘पाण्डुलिपि’का सम्पादक दीपक सापकोटा पत्रिकाको पहिलो अङ्कमा भण्डारी सरको अप्रकाशित कुनै एक रचना प्रकाशन गर्न चाहन्थे, जुन अहिले सम्भवजस्तो नदेखिएपछि सापकोटाको आग्रहमा म आफ्ना श्रद्धेय गुरुप्रति ‘पाण्डुलिपि’ का लागि यो निबन्ध लेख्दैछु । यसअघि भण्डारी सर र उहाँका निबन्धहरूमाथि मैले एउटा सानो ‘भूमिका’ लेखेको थिएँ, उहाँको पछिल्लो कृति ‘त्यो धर्ती, त्यो आकाश’ का लागि । तर, कुनै सीमामा नबाँधिएका मुक्त एवं प्रज्ञावान व्यक्तिका उपर केही लेख्नु एउटा दुµह अभ्यास हो ।
भण्डारी सरका निबन्धहरू नेपाली निबन्धकारिताका मानक हुन् । उहाँका वैयक्तिक र स्मृति निसृत निबन्धहरूले उहाँका जीवनका अनेकौं पाटाहरूलाई उद्घाटित गरेका छन् । तथापि, उहाँबाट आत्मकथाको अपेक्षा गरिनुका निश्चित कारण छन् । आत्मकथाको पहिलो शर्त आत्मश्लाघाबाट मुक्ति हो, जसमा उहाँले पूर्णाङ्क पाउनुहुनेछ । युजी कृष्णमूर्तिले ‘बायोग्राफिज आर लाइज एण्ड अटोबायोग्राफिज आर डबल लाइज’ भनेझैं हामीले पढ्दै आएका अधिकतर आत्मकथाहरू आत्मरति र आत्मश्लाघाका पुलिन्दाहरू हुन् । आफूलाई अन्यभन्दा विशिष्ट र चरित्रवान देखाउदै आफ्नो वंश र परिवारलाई महिमामण्डित गरिँदै लेखिने यस्ता तथाकथित आत्मकथाहरू समय र पैसाका वरवादी मात्र हुन् । तर, चलनचल्तीका यी तथाकथित आत्मकथाकारहरू विपरित भण्डारी सर आफूलाई कहिल्यै श्रेष्ठ वा विशिष्ठताको पगरी गुथाउनु हुँदैन । आफैँउपर व्यङग्य गर्न सक्ने विशिष्ट खुबी उहाँमा छ । यस्तो खुबी उहाँजस्तै मुक्तात्माहरूमा मात्र देख्न सकिन्छ । ज्ञान, चिन्तन, निस्पृहता र लेखन शिल्पका दृष्टिले म भण्डारी सरलाई भारतका प्रसिद्ध लेखक खुशवन्त सिंहको समकक्षमा पाउँछु । खुशवन्त शिख सम्प्रदायका रहँदा–रहँदै पनि सरदारजीहरू उपर जोक बनाउँछन् । आफूलाई मूर्खको दर्जा दिन्छन् । अवकाशको पूर्वसन्ध्यामा खुशवन्तलाई जन्मदिनको शुभकामना दिन उनको घरमै पुगेका भारतका तत्कालिन राष्ट्रपति एपीजे अब्दूल कलामले खुशवन्तलाई सोधेका थिए, ‘अबको केही समयपछि म सेवा निबत्त हँुदै छु, मैले आफ्नो अवकाशको जीवन के गरेर विताउनु पर्ला ?’ कलामको प्रश्नमा खुशवन्तले भनेका थिए, ‘तपाई जस्तो विद्धान राष्ट्रपतिलाई म जस्तो एक जोकरको सल्लाह दिन सक्ने हैसियत कहाँ हुन्छ र ?’ खुशवन्त झैं भण्डारी सर पनि आफूलाई ‘लाटो’, ‘मूर्ख’ आदिको उपमा दिनुहुन्छ र आफैँप्रति व्यङ्ग्य गर्नु हुन्छ । आफू डोटी र कैलालीका गाउँहरूमा गोठालो हुँदा जीवनको सर्वाधिक उत्सवपूर्ण क्षण व्यतित गरेकाले प्राध्यापन कर्म भन्दा पनि गोठाले जीवन आफ्ना निम्ति प्रेमिल रहेको बताउनुहुन्छ । अर्को जुनीमा ईश्वरले के बन्छौं भनेर वर माग भनेमा आफूलाई यस जुनीको भन्दा पनि ठूलो गोठालो बनाइदेऊ भन्नेछु भन्नुहुन्छ । त्यसैले पनि मेरो विश्वास छ, डोटी निरोली गाउँका गोठालो भण्डारी सरको गंगातटबाट आरम्भित अक्षर यात्रा, सरदार रुद्रराज पाण्डेकी छोरीसँगको विवाह र प्राध्यापन कर्म बीचको समयरेखाका असंख्य घुम्तिहरू एउटा उत्कृष्ट आत्मकथाका तन्तु हुन सक्छन् ।
भण्डारी सर र मेरो सम्बन्धलाई लिएर धेरै साथीहरू जिज्ञासु भएको देख्छु । तर रमाइलोचाहिँ, अभि (सुवेदी) सरले जस्तो भण्डारी सरले मलाई कक्षामा पढाउनु भएको होइन । अंगे्रजी केन्द्रीय विभाग, किर्तिपुरमा स्नातकोत्तर अध्ययन गर्दा भण्डारी सर एकपल्ट मात्र कक्षामा झुल्किनु भएको थियो । त्यो दिन पढाइभन्दा पनि गफगाफमै बितेको थियो । त्यस लगत्तै उहाँ सेवा निवत्त पनि हुनुभयो । असलमा बिक्रमको चालिसको दशकको मध्यतिरबाट चल्तीका अखवारहरूमा प्रकाशन हुन थालेका उहाँका लेखहरूका कारण म उहाँप्रति चुम्बकझैं आकर्Èित भएको हुँ । त्यस सँगसँगै उहाँका संभाÈणकलाबाट म अतिशय मुग्ध हुन्थेँ । दर्शन, शायरी, कटाक्ष र हाँसो मिश्रित उहाँका संभाÈणमा चुम्बकीय आकर्Èण हुन्थ्यो । उहाँ उपस्थित प्रेक्षालय स्रोेता–दर्शकहरूले टनाटन हुन्थ्यो । उहाँको बोल्ने शैलीले ओशो रजनीशको स्मरण गराउँथ्यो । लाग्थ्यो उहाँका संभाÈण कहिल्यै नटुङ्गियून । लेखन र संभाÈण दुबै कलामा निपुणता विरलै मानिसहरूमा देख्न सकिन्छ, जुन भण्डारी सरमा पाइन्छ । उहाँको एउटा विशिष्ट खुबी चाहिँ मञ्च वा प्रेक्षालयमा उपस्थित व्यक्ति विशेÈलाई लिएर उहाँ कटाक्ष प्रहार गर्न सक्नुहुन्छ, जसलाई सुन्दा ती ब्यक्तिमा क्रोधभन्दा पनि हाँस्य तरङ्गित हुन्छ ।


प्राध्यापक अभि सुवेदी भण्डारी सरको लेखनीलाई संवादित कलाको संज्ञा दिनुहुन्छ । भण्डारी सरले पाठकहरूबीच त्यही संवदित सम्बन्धको विस्तार गर्नुभएको अभि सरको ठम्याइ छ । आफ्नोे तर्कलाई पाइन हाल्दै उहाँ भन्नुहुन्छ, ‘डीपी भण्डारीका हरेक लेख अदृश्य र दृश्य पाठकहरूसँगको संवाद रचना हुन् । उहाँले लेखन आरम्भ गरेपछि सुन्दर, स्नेहस्निग्ध नारीहरू यथार्थ र मिथक अनि सम्भावना र स्मृतिका गोधूलिमा देखिन थाले । ती नारीहरू सायद रुमीको काव्यका सम्बोधित तरल र ‘मिष्टिक’ विÈय थिए ।’
प्रध्यापक सुवेदीले इङ्गित गर्नुभएका ती मिष्टिक नारीहरूलाई लिएर भण्डारी सर यदाकदा विवादित पनि बन्नुहुन्थ्यो । पाठकहरू उहाँका ‘टेक्स्ट’ लाई ‘मिसरिड’ गरिदिन्थे । उनीहरू ती नारीहरूको भौतिक उपस्थिति खोज्दथे र नारीहरूको बहुल उपस्थितिलाई भण्डारी सरको आशक्तिको अर्थमा लिन्थे । तर, यथार्थमा नारीहरूप्रति भण्डारी सरको अप्रतिम सम्मान रहँदै आएको छ । उहाँ सुन्दर र शीलयुक्त नारीहरूप्रति नतमस्तक देखिनुहुन्छ । यस्तो प्रभाव आफूमाथि समेत परेको जिकिर भारतका विद्वान राजनेता डाक्टर करण सिंहले आफ्नोे पुस्तक ‘मिटिङ विथ रिमार्केवल वुमन’ पुस्तकमा गरेका छन् । वीपी कोइरालामा पनि यस्तो प्रभाव सघन पाइन्छ । यस्तो प्रभावलाई विस्तार गर्नका लागि डाक्टर संगीता रायमाझीको ‘क्यान वुमन रिवेल’ शिर्Èकको पुस्तक विमोचनका अवसरमा भण्डारी सरले गर्नुभएको टिप्पणी म यहाँ सान्दभिर्क देख्छु । उहाँले भन्नुभएको थियो, ‘पुरुÈ कहिल्यै पनि नारीको इष्र्यालु हुन सक्दैन । के साढे गाईप्रति इष्र्यालु हुन सक्ला ? साढे गाईप्रति सम्मोहित मात्र हुन सक्छ ।’
यसैगरी यौन र नग्नता उपरको भण्डारी सरका टिप्पणीलाई कतिपय पाठक सपाट रू पमा बुझिदिन्छन् । किनकि, उनीहरू नग्नता र अश्लिलता बीचको भेद खुट्याउन नसक्दा नग्नतालाई अश्लिलताको अर्थमा लिन पुग्छन् । उहाँ यस्ता खाले जटिलतालाई कटाक्षका वाणले सहजै चिरिदिनुहुन्छ । नग्नता कम्मरमुनि मात्र नभएर गर्धनमाथि पनि हुन सक्छ भन्ने कुरा उहाँले एउटा प्रसंगबाट विनिर्माण गरिदिनु भएको थियो । एकपल्ट अख्तियारले भ्रष्टाचारको अभियोगमा केही कर्माचारीहरूलाई अदालतमा लैजादै गर्दा तिनीहरूले आफ्नो अनुहार रुमालले छोपेका थिए । त्यसै बखत भण्डारी सरले आफ्नोे नियमित स्तम्भमा ती भ्रष्ट कर्मचारीका नाकभन्दा पशुपतिका नागा बाबाहरूका लिङ्ग सुन्दर र दर्शनीय छन् भनेर लेख्नुभएको थियो । भ्रष्टाचारीहरू नाक छोप्छन् तर नागा बाबाहरू लिङ्ग प्रदर्शन गर्छन् ।
सघन बिम्वात्मकता भण्डारी सरका लेखकीय विशेÈता हुन् भने निर्वोधता अनि निस्पृहता उहाँका चारित्रिक विशेÈता । शक्ति र सत्ताबवाट उहाँ विकÈिर्त हुनुहुन्छ तर सत्य र निश्छलताबाट अभिभूत । आफूलाई विद्वान भनाउनेहरूसंग उहाँको कट्टी छ । ‘त्यो धर्ती, त्यो आकाश’ निबन्धसंग्रहको एउटा निबन्धमा उहाँ लेख्नुहुन्छ, ‘तिमी, शीला र पल्लोघरको ज्यापूको लाटो छोरासित म नरकमा पनि जान तयार छु, यहाँका धेरै जसो राजनीतिज्ञहरू, बुद्धिजीवीहरूसित स्वर्ग जान पनि तयार छैन । तिमीहरू नर्कमा गएपनि स्वर्ग निर्माण गर्छौ, तिनीहरू स्वर्गमा गएपनि स्वर्गलाई नर्कमा रुपान्तरित गरिदिन्छन् ।’
एउटा सुदीर्घ प्राध्यापन कर्म र ओजिला लेखमार्फत् डीपी भण्डारी नामको आभा र काया नेपाल र दक्षिण एशियाको आकाशमा स्थूलरूपले स्वभायमान छ । तर त्यस विराटरूपका जराहरू डोटीका निरोली गाउँका भीरपाखा, फाँट, दहवन र गोठहरूमा पातालसम्म गढिएका छन् । उहाँका मार्गदर्शन, दीक्षा र संगतले चाहे ती उहाँका विद्यार्थी हुन् वा पाठक एउटा भयंकर अज्ञानता तथा अध्यारोपनाबाट प्रकाशतर्फको उध्र्र्वगामी यात्रा गर्न सक्छ, मुक्ति पाउन सक्ने छ । उहाँका शिष्य हुन पाउनु मेरो सौभाग्य हो र यसै आदरभावले मैले आफ्नोे पहिलो साहित्यिक कृति ‘मैले नदेखेका हिप्पी’ उहाँप्रति समपिर्त गरेको छु ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com