बब डाय्लनको आत्मकथा क्रोनिकल्स

प्रकाश सायमी

 

 


‘यो गीत तिमीले ध्यान दिएर सुन्नू ।’ स्वरसम्राट नाराणगोपालले सन् १९८४ को हिउँद्मा दिएको त्यो गीत सुनेपछि म गायक÷संगीतकार बब डाय्लनका कुनै पनि गीतको भक्त भएको हुँ । त्यसपछि उनको वार्ता, लेख, जानकारी केही पनि पाएँ भनेर खोजेर, मागेर वा सम्भव भएसम्म किनेर पढ्ने बानी बसालेँ ।

‘कैँयौ बाटो भएर आएको हुँ’ भन्ने उनको गीत सुनेपछि म विम्बित् भएँ र उनका सम्पूर्ण गीतहरूको संग्रह बब डाय्लन १९६२ (२००१ किनेर राखेँ, त्यसैगरी रोलिँग स्टोन नामक् मासिक पत्रिकाले उनको ७० औँ जन्मदिनमा प्रकाशन गरेको द सेवेन्टी ग्रेटेस्ट डायलन् सँग्स् पनि बटुलेर राखेँ । तर यिनले र यस्ता संकलनेले मलाई कुनै आनन्द वा उत्साह कहिले दिएन । मलाई उनको जीवनी वा भनौँ उनकै हातबाट लेखिएको आत्मकथा पढ्न मन थियो, त्यसको खोजीमा मैले कैँयौ शहर प्रवास घुमेँ, विशेषतः कोलकता, चेन्नई, बैंककतरि कामको सिलसिलामा जाँदा खूब खोजेँ तर पाइँन । तर उनी आफ्नो आत्मगाथा लेख्दैछन् भन्ने जानकारी कतै कतैबाट गोप्यतापूर्वक आइपुग्थ्यो, म पर्खिँदै थिएँ ।
उनको आत्मकथामा मलाई रुचि हुनुको प्रमुख कारण उनको नाम नै हो, वा भनूँ उनको नाम डायलन हो किन डिलन हो ? उनी कसरी उनको नाम उच्चारण गर्न मन पराउथेँ । यहाँका केही अँग्रेजीवाजहरू उनलाई दिलान् पनि भन्थे, कोही उनलाई डाएलोन पनि भन्थे , त्यो सब जान्नको लागि म उनको आत्मगाथाको पर्खाईमा बसेँ । एकदिनको उनको नामको विषयमा दाजु नारायणगोपाल र  दिव्य खालिङसित किरण भवनमा चर्को बहस नै चल्यो, हाम्रो बहस सुनेर ग्रेस भाउज्यू केही बोल्नु भएन । उमेरले तीस पनि ननाघेको एउटा युवाले ती दुई भेटरानको अगाडि पेनाल्टी सहनु प¥यो । त्यो हारले पनि म बब डायलन् को सादा र स्पष्ट आत्मकथा पढ्न चाहन्थूे । यसअघि पनि मैले धेरै व्यक्तिको आत्मकथा पढिसकेको थिएँ, विशेषतः गायक, संगीतकार अनि चित्रकारको आत्मकथाले मलाई खूब तान्छ । यद्यपि भारतका विचारक यूजी कृष्णमूर्तिले ‘जीवनी आधा झूठो हो भने आत्मकथा पूरै झूटो हो’ भने पनि मलाई आत्मकथाको पठन सामग्रीले खूब जागरण  दिन्छ ।
आत्मकथा धेरैपछि मात्र साहित्यमा शुरु भएको विधा हो, यसअघि संस्मरण र उपन्यास मात्र यसका माध्यम थिए । अमेरिका र योरोपमा यो विधा फस्टाउँदै गएपछि यसलाई नयाँ सन्धिकरण दिइयो …आत्मकथा । बायोग्राफी अर्थात् जीवनी सन् १८०० मा अँग्रेजीमा प्रविष्ट भयो , अटोबायोग्राफी १९ औँ शताब्दिको घेरामा चलनचल्तिमा आउन थाल्यो । यो अटोबायोग्राफी अर्थात् आत्मकथा शब्दलाई सन् १८०९ मा अँग्रेजी कवि रोबर्ट साउथेले एउटा पुस्तक समीक्षा लेख्ने क्रममा प्रयोगमा ल्याएका हुन् जुन पछि व्यवहारिक प्रयोगमा बाह्र वर्षपछि आउन थाल्यो । साउथे भन्दा पहिले पनि रोमान्सेली कवि सैम्युएल टेलर कलरिज् र विलियम वर्डस्वर्थले पनि सन् १७९७ मा यसवारे चासो देखाइसकेका थिए । ती दुईले चर्चाकै प्रसँगमा अँग्रेजी समालोचक ईस्साक डी’इस्राइलीको मिस्सेलिनीज् , अर् लिटेरिरी रिक्रिएशनस् (१७९६) लाई पहिलो मान्दै आएकाछन् , डी’इस्राइलीको सेल्फ्बायोग्राफी –(आत्म– जीवनी) लाई व्याख्या गर्दा यसमा तीनोटै तत्व उपलब्ध भएको पनि भनेका छन्, अटो जसले स्व(आत्म)लाई, बायोस् जसले जीवनलाई ग्राफेन जसले लिखत्लाई जनाउँछ । सैक्सोन (ग्रीक् हाइब्रीड शब्द सेल्फबायोग्राफीबाट आत्मकथा बनेपछि यसको श्रेय स्वतः साउथेलाई गयो जब उनले पोर्चूगाली कवि फ्रान्सिस्को व्यूओराको चर्चामा यो शब्दको सिक्का जन्माए ।
यसपछि प्रकाशित धेरै आत्मकथा मैले विविध कारणले पढे पनि गायक, संगीतकार र गीतकार बब् डायलन्को आत्मकथाको खोजी मेरा निम्ति चयनको विषय बन्यो तर यो मेरो बुभुक्षा सन् २००९ गएर बल्ल  पुरा भयो । उनको सन् २००४ मा नै पकेट बुक्स् लण्डनले प्रकाशित गरेको उनको आत्मकथा क्रोनिकल्स् नेपालको पुस्तक बजारमा आउनै सकेन, यसका आधिकारिक विक्रेता वा संस्था नभएका कारणले । सन् २००५ देखि लण्डनमा रहेका मेरा एक विद्यार्थीलाई बारम्बार यो पुस्तक खोजीदिन आग्रह गर्दा उनले यो आउट अफ् स्टक भएको र पाउन नसकिने जानकारी दिइन् । कालान्तरमा उनले अमाजोन लगायत विभिन्न वेभसाइट मार्फत् खोजी गर्दा यो पुस्तक पुराना पुस्तक विक्री हुने स्टलमा पाउन सकिने जानकारी आमाजोनबाटै पाए पछि उनले मलाई खबर गरिन् ।
चोरी भएर फर्काइएका, पढेर फर्काइएका वा संग्रह गर्न मन नलागेर फ्याँकिएका पुस्तकको पुनः विक्री वितरण गरिने पसलबाट थ्रीफ्टबुक्स् नामबाट नयाँ आइएसबीएन नम्बरमा ८२७ मा यो प्राप्त भयोे ।
यो मेरो सादा सपना रंगीन रुपमा सन् २००९ अक्टोबर ८ का दिनमा भव्य रुपमा पूरा भयो, जब पृष्ठ ७८ मा गएर मैले बब डाय्लनको नामबारे मेरा सबै रहस्यास्पद विचारमा अँकुश लगाएँ, उनी लेख्छन्, ‘मलाई शंका थियो, संगीतकारले घरि घरि मेरो थरमा एल्लायन्लाई हिज्जे विगारेर एल्लेन गरिरहेका थिए । मलाई थाहा छ, किन ? यसमा धेरै आदेश र आवाजको दम्भ थियो । अब म यो पनि गर्नेछु । अब रोबर्ट अल्लेनको बदला म रोबर्ट एल्लायन् नै गर्नेछु । त्यसको केही समयपछि मैले एकदिन अनपेक्षित रुपमा डायलन् थोमसका कविता पढ्न पुगेँ ।  डायलन् र एल्लायन्  समस्वर   लाग्यो मलाई । रोबर्ट डायलन् वा रोबर्ट एल्लायन् ? रोबर्टमा डी अक्षरको ध्वनित राम्रो सुनिएन शायद । तर मान्छे मलाई बोलाउँदा कि रोबर्ट भन्छन् कि बब्बी । एकमनले बब्बी डायलन् नाम राखूँ कि जस्तो पनि लाग्यो तर त्यतिबेला हाम्रो जगतमा बबी नामका धेरै मान्छे थिए र रहे , बबी डैरिन, बबी राइडल, बबी भिइ र बबी निली त सक्रिय नै थिए । धेरै बबीहरू एकै ठाउँमा । बब एल्लायन् भन्दा मलाई बब डायलन् नाम ठीक लाग्यो । पहिलो पटक मेरो नाम ट्वीन सिटीमा सोधिएको थियो , मैले विना हिच्किचाहट, स्वतःस्फूर्त नसोचिकनै भनेछु साधारण तवरमा, बब डायलन् ।’
यो आत्मकथाको दोस्रो पाटोको द लस्ट ल्यान्ड शीर्षकमा लेखिएको यो संस्मरणको हिस्सा पढ्दा म ताज्जुब हुन्छु, उनले आफ्नो नयाँ नाम राख्नका निम्ति गाउनका निम्ति जत्तिकै दुःख किन गरे ? उनले धेरै पटक आफ्नो नामका वारेमा समस्या भएको जानकारी पनि दिल खोलेर दिएका छन् ।
पाँच खण्डीय यो आत्मकथा  पढ्दा जहिले पनि मलाई त्यो हिउँद्को गम्किलो गन्ध नाकमा आउँछ जब स्वरसम्राट नारायणगोपालले जमलस्थित रोदी रेस्त्राँमा बब डायलन्को पुरानो क्यासेट मायाले दिएका थिए । यहाँ उनले त्यो गीतकका वारेमा कतै पनि चर्चा नगरेपनि म कितापभपरि त्यही गीत गुञ्जेकै देख्छु ।
२९३ पृष्ठको यो किताबमा पहिलो खण्ड मार्किङ अप द स्कोर मा बाइस पृष्ठ यो आत्मकथा लेख्नुका कारण र उनको तत्कालीन अवस्था बारे विस्तारित भएका छन् । दोस्रो खण्ड द लस्ट ल्याण्डमा अन्तरद्वन्द्व र आफ्नो गायनको युगको झलक दिएका छन् । तेस्रो खण्ड न्यू मर्निङ र चौथो खण्डमा नो मर्सी शीर्षकमा कलम चलाएका छन् भने अन्तिम पाटोमा रिभर अफ आइस शीर्षक दिएर समाप्त गरेका छन् ।
नयाँ विहान शीर्षकीय पाटोमा उनले अन्य गायक गायिकालाई उत्साह हुने कुरा मनज्ञानले लेखेकाछन्, उनी कति कविता पढ्थे, कुन कुन कविबाट प्रभावित भए सहृदयतापूर्वक चर्चा गरेकाछन् । उनले मनपराएका कवि मा अमेरिकाका राष्ट्रकवि मध्ये एक मैकलैश, नगरकवि कार्ल स्यान्डबर्ग, कालो ध्यानचेतनाका वाहक रोबर्ट फ्रस्टलाई औधी रुचाएको पाइन्छ भने यिट्स्, ब्राउनीङ र शेलीलाई स्तम्भ नै मानेकाछन् । उनले यही खण्डमा आफ्ना परपप्रिय पिताको पनि सम्मानपूर्वक सम्झना गरेका छन् । र, निकै उदेक मान्दै उनले आफ्नो मोटरसाइकल दुर्घटनाको प्रसँगपछि भनेका छन्, साँचो कुरा भन्नुपर्दा म यो मुसादौडबाट निस्किन चाहन्छु ।”
सन् साठीको दशकमा उनी बीटल्ससित प्रतिस्पर्धामा थिए भने बीटल्स अमेरिका छोडेर एसियाई भूखण्डतिर जाग्दै थियो, उनले त्यस घटनालाई स्पर्श गर्ने क्रममा युवाहरू विग्रेको र  पार्किङ लटमा गाडीभित्रको राशलीला अनि गाडीका फुटेका ऐना र रंगीविरंगी भित्ते लेखनको पनि गुनासो राखेकाछन् ।
नेपालको वामसमूहका गीतिगायनमा गहिरो प्रसर दिने गायक डायलन्ले आफ्नो आत्मकथामा माओवादी, माक्र्सवादीको चर्चा गर्नुका साथै चीनबाट उदाएका कुँगफू खेलाडी ब्रुश लीको पनि एकाश्मिक चर्चा गरेका छन् ।

आफ्नो गायन र लेखनले समाजमा सर्वोच्चता पाएका रोबर्ट एल्लेन जिम्मरम्यान कालान्तरमा महान् कवि डायलन् थोमसको नाउँलाई पुनजार्गृत गरेरै बाँचे, यो नै उनको आत्मकथाको आत्मा बनेको छ ।
भूमिका र इन्डेक्स नभएको यस पुस्तकको मूल्य आठ पाउन्ड भएपनि पढ्दा यसले सबै मूल्य चुकाइदिएको मलाई महशुश भयो । प्रकाशन भएकै साल यसलाई तेह्रओटा संस्थाले बुक अफ द इयर घोषणा गरेको कारण पनि यो पुस्तक हाल सम्म पाठकसित निकटता राख्न सफल भएको देखिन्छ ।
हनिफ कुरैशीले यस पुस्तकका वारेमा लेखेकाछन्, एउटा किताब कसैले सोचेका थिएनन् उनले लेख्न सक्छ ।
मलाई पनि यस्तै  लाग्छ, यो किताबका वारेमा । कुनै रक स्टारले कलमलाई कागजमा यसरी उतारेको यो पहिलो पटक नै होला । मैले सन् सन् २०१० जुलाई २६ मा यो पुस्तक पढिसकाएपछि बेलाबेलामा दोहोर्याएर पढ्ने गरेको छु ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com