नसपाते बूढा

उपेन्द्र सुब्बा

नसपाते बूढा मरेछ ।
‘ए, हो र ! च्वँ… !’ मैले अनयासै आश्चर्य प्रकट गरेँछु ।
नसपाते बूढा मेरो लामो उठबस भएका मान्छे थिएनन् । एकपल्ट मावलाघर जाँदा देखेको, भेटेको मान्छे मात्र हुन् । तरै, उनको मृत्युको खबरले मलाई दुःखी बनायो ।

बच्चा छँदा सधैँ जाऊँजाऊँ लाग्ने प्यारो मावलाघर, युवा भएपछि मावलाघरको आकर्षण उसैउसै घटेर जाँदो रहेछ, कुन्नि किन हो ? मलाई थाहा छैन ।
धेरै वर्षपछि म मावलाघर गएको थिएँ, त्यो पनि विशेष काम परेकाले, नगई नहुने भएकाले मात्र । मामामाइजूले गुनासो त स्वाभाविक गर्नुहुने नै थियो, खूबै गुनासो पोख्नुभयो । मामामाइजूको गुनासोलाई हाँसेर टार्नुबाहेक मसँग कुनै विकल्प थिएन । माइजूले बिछ्याउनुभएको राडीमा बसेर मामाको गुनासो सुन्दै थिएँ, घरमुनि बारीको डिल उक्लेर गाउँ नै थर्किने गरी एउटा बूढोबूढो मान्छे कुल्र्यो, ‘हुर्र् लै साइँलीमाइली !’
‘नसपाते आयो है,’ मान्छे नहेरी माइजूले भन्नुभयो ।
नसपाते बूढो, पुरानो खैरो वर्मकोट लगाएर, अँकुसे परेको लौरोमा पेरुँगो उनेर काँधमा राखी लमकलमक हिँड्दै आएर आँगनछेउ एथेसा उभियो ।
‘के छ हाउ, दक्सेङ्गे हो ?’ हालचाल सोधेको हो कि गाली गरेको ? बुझ्नै गाह्रो गरी नसपाते बूढो चर्को स्वरमा करायो ।
‘नसपाते ! के सिक् हुन्छ र लेकमा ? आलु त हो नि,’ माइजूले भन्नुभयो ।
नसपाते बूढोको खतमा गएछ क्यार । शीरपुच्छर हल्लाउँदै हाँस्यो, ‘हाहहा… हहा… हहाअ…!’
नसपाते हाँसेको भोटे कुकुर भुकेकोजस्तो सुनिन्थ्यो ।
‘लौरोमा के पो बोकिस हाओ ?’ मामाले मुढा सारिदिँदै नसपातेलाई सोध्नुभयो ।
‘केजस्तो लाग्यो ?’
मामा बोल्नुभएन ।
‘अण्डा । तिमेर्को घरमा आलु कति छ हाउ ? मेरो घरमा अण्डा त्योभन्दा धेर छ । के गर्नु नबेचेर ?’ मुढामा बस्दै नसपातले गफ दियो ।
नसपाते र मामामाइजूको बातचित म सुन्दै चुपचाप खाटमा बसिरहेको थिएँ । नसपातेले मतिर पुलुक्क हेर्दै सोध्यो, ‘यो रुखको ठुटाजस्तो चाहिँ को हो नि, खाटमा ?’
‘हाम्रो भन्जा हो, कान्छी बैनीको छोरा,’ मामाले मलाई नमस्ते गर्नू भन्ने इसारा गर्दै भन्नुभयो ।
हतपत खाटबाट ओर्लेर मैले भुइँसोरी गरेँ ।
‘ए ! आङदेम्बे भान्जा हो ? टाउको हेर्दै होजस्तो लागेको थियो । बुद्घि नभए पनि आङदेम्बेहरूको टाउकोचाहिँ ठूलै हुन्छ । हाहहा… हहाअ…!’ नसपाते आफू बसेको मुढा सर्नेगरी हाँस्यो ।
चित्त दुखे पनि ङिच्च दाँत देखाएर नसपाते बूढालाई मैले हाँसिसघाएँ ।
‘अब, जाँड खाएर जाऊ भन्छौ होला । तिमीहरूलाई थाहै छ, म मकैको जाँडै खाँदिनँ । तिमी लेकालीहरूसँग कोदोको जाँड हुने कुरै भएन । म लागेँ,’ मुढाबाट उठ्दै नसपातेले भन्यो ।
‘कोदोको मकैको भन्ने त त्यस्तै हो । अमिलो जाँडचाहिँ छ । खान्छस् भने छान्दिन्छु,’ भित्रबाट माइजूले भन्नुभयो ।
नसपाते बूढाले मुख मिठ्याउँदै भन्यो, ‘अब, यति मायाले भाउजूले कर गरेपछि, अमिलो जाँडको के कुरा ? म त बिखै पनि बजाइदिन्छु,’ मामातिर फर्केर नसपाते हाँस्यो, ‘हाहहा…हहाअ…! कि कसो हाओ दाजु ? गल्ति पो बोलेँ कि ? हाहहा… हहाअ…!’
‘जे गर् है तेरो भाउजूलाई । मैले त उहिले हुकुम छोडेको । जारी तिर्न सक्छस् भने लैजा भनेकै हुँ, आरिन्,’ मामाले पनि बेफिकर भन्नुभयो ।
‘अहिलेसम्म के जारीको कुरा गरिबसेको हाओ ? बरु यसो थपिदिने कुरा गर न । लगेपछि काजक्रिया मैले नै गर्नुपर्छ,’ नसपातेले थप जोसिएर भन्यो ।
माइजूले ढोकामा टाउको मात्र निकालेर भन्नुभयो, ‘नसपाते आइज ! कुम्बा पनि आऊ !’
मामा, माइजू र नसपाते तीनजना गफ गर्दै थिए, म बाहिर सिकुवाको खाटमा बसेर नसपाते बूढा कस्तो अचम्मको मान्छे होला भनेर घोत्लिँदै थिएँ ।
नसपाते गएपछि मैले मामालाई सोधेँ । मामाले भनेअनुसार नसपाते बूढा नामकटुवा लाहुरे थियो । पहिलो छुट्टी निस्केर गाउँमा लिम्बू मातृभाषामा पढ्नलेख्न पाउनुपर्छ भन्ने आन्दोलनमा लाग्यो । पोलझोस भयो । सबै आन्दोलनकारीहरू पक्राउ परे । सबैमाथि राजद्रोह अभियोगमा मुद्दा लाग्यो । नसपातेलाई छ महिना जेल चलान भयो । जेल परेपछि समयमै आफ्नो पल्टनमा हाजिर हुन पाएनन् । नाम काटियो । जेलबाट मुक्त भएपछि वर्ष दिनजस्तो सातो हराएको लाटो मान्छे भएर बस्यो । त्यही समयमा विहे पनि ग¥यो । बिस्तारै हाँस्न बोल्न थाल्यो तर मान्छेसँग बाङ्गो मात्र बोल्न थाल्यो । ऊ खिसीटिउरी गर्न खप्पिस हुँदै आयो । नसपातेलाई गाउँलेहरूले त्यस्तै बाङ्गो भए पनि, खिसीटिउरे भए पनि बिस्तारै स्वीकार्दै ल्याए ।
नसपाते बूढा सुँगुरको बिकासे वीर पाल्थ्यो । वीर लिएर गाउँभर डुलाई हिँड्थ्यो । पचास रुपैयाँ बाल उठाउँथ्यो । उसले बाल तिर्न नसक्नेले सुंगुर ब्याएपछि एउटा पाठा दिनुपर्ने नियम बनाएको थियो । त्यसो त उसको घरमा एउटा बिकासे बोका पनि पालेको थियो । बोकाको बाल भने बीस रुपैयाँ उठाउँथ्यो । नसपातेको आर्थिक अवस्था राम्रै थियो तर निःसन्तान थियो ऊ । उसकोे जायजन्म नहुनुमा राजद्रोहको अभियोगमा पक्राउ पर्दा पुलिसले बूढाको अप्ठेरो जग्गामा बुटले हाने भन्ने गाउँलेहरूको अनुमान थियो ।

नसपातेको बारे यति सुनेपछि उसको घर एक चोटी पुग्न मन लाग्यो । भोलिपल्ट बिहानै मामा र म नसपातेको घर झ¥यौं । हामीलाई देख्ने बितिकै नसपातेले हाँस्दै सोध्यो, ‘हाहहा…हआह ! कसरी बाटो भुल्यौ हाओ दाजु ? कि साँढ चाहियो ?’
‘होइन, यसो भन्जालाई गाउँ देखाको नि,।’ मामाले भन्नुभयो ।
आँगनमा एउटा डुङ्डुङ्ति गनाउने बोका बाँधिएको थियो । छेउमै सुँगुरको वीर मकै खाँदै थियो । घरवरिपरि मौरीका डुँढहरू झण्ड्याइएका थिए । तर, केही डुँढहरूमा मात्रै मौरीहरू भुन्भुनाइरहेका थिए ।
‘ओए, घरपति आमोइ ?’
घरभित्रबाट एउटी आइमाईले ‘हु’ भनिन् ।
‘मेरो तक्सङे दाजु र भान्जा आ’छ । मैले खाने गरेको त्यो खाजा बनाई दे त,’ बाहिरैबाट नसपातेले करायो ।
नसपाते बूढा आफ्नो आँगनमा बसेर भालेसँग खेल्दै बसेको थियो । धागोमा मासु उनेर भालेलाई खान दिँदै थियो । भालेले मासु खाएलगतै फेरि तानी निकाल्थ्यो ।
मामालाई पनि नसपाते बूढाको काम अनौठो लागेछ, भन्नुभयो, ‘के खेलिबसेको ? खान दे ना ।’
‘त्यसै मेरो भाले बाँस्ता गाउँ थर्किन्छ । यसोरी श्वोर खोलिदिनुपर्छ,’ भालेले निलेको धागो तानेर देखाउँदै नसपातेले भन्यो ।
म गोठको जुरोवाल गोरु हेर्दै थिएँ । गोठमा एउटा मात्र गोरु थियो । बोका गनाएर आँगनमा बसिनसक्नु थियो । नाक खुम्चाउँदै म अलिक परतिर सरेँ ।
नसपाते बूढाले हाँस्दै भन्यो, ‘इः सप्पै मेरो विकास हो भान्जा । यत्रो बोका कतै संसार देख्या छौ ? हाहहा, अर्को साल त खसी पार्छु र त्यो गोठको गोरुसँग हल बनाएर जोत्ने पो विचार गरेको छु ।’
नसपाते बूढाको गफ सुनेर हाँस्नुसिबाय अरु केही गर्नु भन्नु सकिने स्थिति थिएन ।
‘अरु पनि हेर्छौ त ?’ नसपाते बूढा उठ्यो । उसले हामीलाई आफ्नो गोठ्बारीमा हामीलाई लग्यो । उसले मुला देखाउँदै भन्यो, ‘हेर त भान्जा ! यत्रो मुला कतै देख्या छौ ? गोठको गोरु यस्मै बाँधु कि भन्दै छु ।।’
साँच्ची नै त्यत्रो मुला मैले कतै देखेको थिइनँ तर नसपातेको बारीमा त्यही एउटा मात्र मुला थियो ।
‘एता हेर त भन्जा, चिन्यो ? के को रुख होजस्तो लाग्यो होला है ? अकबरे खुर्सानीको बोट पो । उस्तै मान्छेले खुर्सानी टिप्न परे भरेङ चाहिन्दैन त ? लु हेर त ?’ अकबरे खुर्सानीको बोटछेउ उभिएर नसपातेले गफ हान्यो ।
अकबरेको बोट पनि त्यै एउटा मात्र थियो । घरछेउछाउ कतै नसपातीको बोट छ कि भनेर हेरेँ, कतै देखिनँ ।

खाजा खान हामी नसपातेको घरभित्र बसेका थियौँ । भरेङमुनि एउटा पोथी कुखुरा ओथारो बसेको रहेछ । घरभित्र अगेनाछेउ एउटा बाक्साखाट थियो जहाँ नसपाते बूढा बसेका थिए । खाटछेउको भित्तामा एउटा खोपी थियो । खोपीमा एउटा गतिलो काठको तोङबा राखिएको थियो । नसपातेकी स्वास्नीले खाजाको रूपमा मामा र मलाई छानेको जाँड राखिदिइन् । नसपाते बूढाले खोपीको तोङ्बा निकालेर तान्यो । पानी सिद्धिएको रहेछ, तोङबा चरर गरेर करायो । नसपाते स्वास्नीसँग रिसायो, ‘के साह्रो ढँङ्ग नभाको आइमाई यो । पानी त राख्दिनुपर्छ नि तोङ्बामा ।’
स्वास्नीले नबोली कित्लीको तातो पानी लोहटा सारेर बूढाअगाडि राखिदिई । नसपाते बूढाले तोङ्बामा पानी थपेर मज्जाले एक खेप तान्यो । उसले मुख मिठ्याउँदै करायो, ‘आ..स्स…।’
नसपाते बूढाले तोङ्बा मज्जा मानेर खाको देखेपछि पक्कै जाँड मिठो होला सम्झेर मलाई पनि खाऊँखाऊँ लाग्यो । भुइँको डबका उठाएर सिधै मुखमा पु¥याएँ । एक घुट्को मात्र मुखमा के लागाएको थेँ, आङ नै सिरिङ्ग भयो । जीउको राँै सबै ठाडा भए । जाँड त चुकजस्तै अमिलो थियो । जूठो लगाइहालियो, नखाऊँ कसरी ? करैले बटुकाको आधाजस्तो खान सकेँ ।

अमिलो जाँडले पाद आउँछ भन्ने सुनेको मात्र थिएँ, हो रहेछ । मामा अघिअघि फायरिङ गर्दै र मचाहिँ पछिपछि फुसफुस छोड्दै घरतिर आउँदै थियौँ ।
‘नसपातेको जाँडले गर्नु ग¥र्यो । भन्जा, तिमी अगाडि लाग,’ तोप नै पड्केपछि भने मामालाई मसँग अप्ठ्यारो लाग्यो क्यार, मलाई बाटो छोड्दै भन्नुभयो ।
मामाको अघि लाग्नु मैले मानिनँ । मेरो पनि हालत यही थियो ।
‘बूढाको घरछेउछाउ कतै नस्पाती देखिनँ । नसपाते चाहिँ किन भनेको मामा ?’ मामा बाटो लागेपछि सोधेँ ।
‘मान्छे उत्फट्याङ ! पल्टनबाट छुट्टी आउँदा एउटा गीत मुखैमा झुण्ड्याएर ल्यायो । जैले त्यै एउटा गीत गाउने ।’
‘गीतचाहिँ कस्तो थियो मामा ?’ मामा बोल्दाबोल्दै बीचमा सोधेँ ।
‘लाहुरे दाइले के ल्यायो सम्पत्ति ? एउटा झम्पल दुई दाना नस्पाती,’ नसपाते बूढाको गीत सम्झेर मामा आपैंm हाँस्नुभयो ।
मामाभान्जा हाँस्दै घर पुग्यौँ ।

फेरि, मामाघर नगएको धेरै वर्ष भयो । नसपाते बूढा त मरेछ ।
खबर सुनाउँने मान्छेलाई ‘नसपाते बूढा के भएर म¥यो ?’ भनी सोधेँ । उसले पनि सुनेको कुरा भन्यो । दशैंमा बूढाको घरमा पाहुना आएछन् । बूढाले जिब्रो पड्काउँदै खाँदै गरेको तोङ्बामा पानी लाऊँ है भन्दा स्वास्नीले तोङ्बा घोप्ट्याइछे । तोङ्बामा जाँडको छोक्रा थिएन । पानी मात्र पोखियो । पाहुनाहरूले देखे । नसपाते बूढाको शीर ढलेछ । विरामी परेको सात दिनमा मरेछ ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com