देवकोटाको तासकन्द सम्भाषण नेपाली साहित्यको पहिलो आधिकारिक चित्र

श्यामल

(सन् १९५८ को अक्टुबरमा तत्कालीन सोभियत गणराज्य उज्बेकिस्तानको राजधानी तासकन्दमा भएको अफ्रो–एशियाली लेखक सम्मेलनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले दिनुभएको अङ्ग्रेजी प्रवचनकोे नेपाली अनुवादबाट ।)

नेपाली साहित्य त्यस अवधिसम्म कुन अवस्थामा थियो र उप्रान्त कुन दिशा पक्रँदै थियो भन्ने कुरा यस सम्भाषणपत्रका माध्यमबाट नेपाली प्रमण्डलका नेता महाकवि लक्ष्मीप्रसाद देवकोटाले स्पष्ट रुपमा विश्वसामु राखेका छन् । एकप्रकारले यो कार्यपत्र नेपाली साहित्यमाथि प्रथम पटक गम्भीर दृष्टिले सूक्ष्म अवलोकन गरिएको दस्तावेज हो र विश्वसामु बदलिँदो नेपाली समाजको चरित्रलाई पहिलो पटक उद्वोधन गर्ने ऐतिहासिक सामग्री पनि हो । यस सम्भाषणले देवकोटामा आएको वैचारिक निखार, नेपाली साहित्य र साहित्यकारप्रतिको उनको सम्यक् दृष्टिकोण र साहित्यकारहरूले सामना गर्नुपरेका चुनौतीहरूबारे पनि पर्याप्त मात्रामा प्रकाश पारेको छ । यसमा निरन्तर पुराना मान्यताप्रति विद्रोह र नयाँपनको खोजीको विशिष्ट चरित्र दृष्टिगोचर हुन्छ । यसमा नेपाली साहित्यको भावी मूल्य र मार्गरेखा कोरिएको छ । यसमा देवकोटा बदलिँदा मूल्य र मान्यताका पक्षमा प्रस्ट रुपमा र दृढतापूर्वक उभिएको हेर्न पाइन्छ । मृत्युशैयामा लेखिएको दावी गरिएको ‘आखिर श्रीकृष्ण रहेछ एक’ भन्ने पद्यांंशका आधारमा उनलाई आध्यात्मवादी सावित गर्न कम्मर कसेर लागेकाहरूलाई द¥हो जवाफ हो यो पत्र, जसमा उनले वैज्ञानिक विश्वदृष्टिकोणको वकालत गरेका छन् । यसमा जनतासँगको जीवन्त सम्बन्धको चर्चा छ, स्तुति काव्यकर्मप्रति वितृष्णा छ र परम्पराप्रति अनावश्यक आशक्ति यहाँ कतै पनि प्रतिबिम्बित भएको छैन ।
नेपाली साहित्यलाई विश्वका अन्य साहित्यसँग गाँस्ने दस्तावेज पनि हो यो । जतिबेला एसिया र अफ्रिकाका मुलुकहरू सामन्तवाद र साम्राज्यवादका पञ्जाबाट उम्कन संगठित प्रयास गर्दै थिए, लेनिनले स्थापना गरेको सोभियत संघले त्यस अभियानका प्रयासमा नेतृत्व गर्दै मुक्ति आन्दोलनलाई साथ दिइरहेको थियो । अफ्रोएसियाली लेखक सम्मेलन त्यस्तै एक विश्वव्यापी अभियान थियो । यस्तो अवसरमा नेपाली लेखकीय प्रमण्डलको नेतृत्व गरेका महाकवि देवकोटाले हाम्रो बामे सर्दै गरेको परिवर्तनकामी साहित्यिक मूल्यलाई दुनियाँका लेखकसामु राखेका थिए र नेपाली साहित्यको आशामयी चित्र उपस्थित गराएका थिए ।
नेपाली साहित्यको इतिहास लेखनको आधार ः
सम्भवतः यो पत्र नेपाली भाषा र साहित्यको पहिलो वृहत् सर्वेक्षण हो । यसमा त्यतिबेलाका मुख्य मुख्य रचनाकार र तिनका प्रवृतिलाई बडो होशियारीका साथ केलाइएको छ । महाकविले आफ्ना सम्मान्य पूर्वज आदिकवि भानुभक्तलाई जनतासँग उसैका भाषामा कुरा गर्ने प्रयास गर्नुका साथै आधुनिक नेपाली भाषाको जग बसाएको जस दिएका छन् । पत्रमा उनले नेपाली भाषामा पद्यको प्राचुर्यता नै लाक्षणिक रहेको र गद्य साहित्य झन्डै छँदै थिएन भने पनि हुने निक्र्यौल गरेका छन् ।
विश्वास, प्रेम र सम्मानको अद्वितीय दस्तावेजः
आफ्ना अग्रजलाई महाकवि अति नै सम्मानभावका साथ हेर्थे भने समकालीनहरूप्रति उनको अगाध प्रेम थियो । आफ्नो अनुज पुस्ताप्रति उनी उत्तिकै विश्वास गर्थे भन्ने दृष्टान्त पनि तासकन्द भाषणमा मिल्दछ । लेखनाथ पौड्याललाई आधुनिक नेपाली साहित्यका प्रमुृख प्रतिनिधिका रुपमा स्वीकार्दै नेपाली साहित्यमा उहाँले विशेष स्थान राख्नुभएको र त्यस स्थानमा उहाँको हक पनि रहेको दावी देवकोटाको छ किनभने ‘उहाँले भाषामा लालित्य भर्नुभयो र सुमधुर सुसंस्कृत शैलीको सिर्जना’ गर्नुभयो ।
देवकोटाले नेपाली भाषाका दुई महारथी वैयाकरण पण्डित हेमराज तथा सोमनाथ सिग्द्यालको योगदानको स्मरण गरेका छन् र उनीहरूले बनाएका नेपाली भाषाको स्तरीय व्याकरणका ग्रन्थले भाषिक रूपहरूको स्थिरतामा ठूलो योगदान पुग्न गएको चर्चा गरेका छन् ।
आफ्ना समकालीन नाटककार एवं चित्रकार बालकृष्ण सम शेक्सपियर र इब्सेनका पद्यात्मक नाटकहरूबाट ज्यादै नै प्रभावित रहेको बताएका छन् महाकविले । सम्भाषणमा ‘उनका गहन नाटकीय भावना र विचारहरूको अभिव्यक्तिका लागि उनले बोलचालको भाषाका विभिन्न शब्दहरू र टुक्काहरूको व्यापक प्रयोग गरी र आफ्नै प्रौढ साहित्यिक शैलीको सिर्जना गरेको’ उनको मूल्यांकन रहेको छ । आफ्नै रचनामा पनि पाश्चात्य प्रभाव देखिएको स्वीकारोक्ति छ देवकोटाको । उत्तम पुरुषमा आफूले साहित्यमा लोकगीतका छन्दहरूको प्रयोग गरेको र रोमाञ्चवादी प्रवृत्तिको सुरुआत पनि गरेको उनको भनाइ रहेको छ ।
‘सिद्धिचरण श्रेष्ठका काव्यमा पनि प्राकृतिक सौन्दर्यसमक्ष भावोद्गार व्यक्त गरिएको रोमाञ्चवादी भावना पाइने’ उनको जिकीर छ । भवानी भिक्षुले साहित्यमा नयाँ प्रवृत्ति रहस्यवाद र ‘व्यक्तिवादी साहित्य’ को श्रीगणेश गरेको जस देवकोटाले दिएका छन् ।
नेपाली साहित्यको प्रवृत्तिको रेखाङ्कन ः
देवकोटाको यो सम्भाषण—पत्र वस्तुतः त्यतिबेलासम्मको नेपाली साहित्यको बृहत् सर्वेक्षण त हो नै, साथै यसले नेपाली साहित्यमा देखा परेका विविध प्रवृत्तिबारेकोे उनको सूक्ष्म अध्ययनलाई पनि रेखाङ्कित गरेको छ ।
‘साहित्यिक क्रियाकलापको अन्तिम स्तरमा नेपाली लेखकहरूले युगको आह्वानको उत्तर दिँदै आफ्ना कृतिहरूमा बुद्धिजीवीवर्गको विद्रोहात्मक र क्रान्तिकारी मनोभावनाको अभिव्यक्ति थालेको’ बताइएको छ यस सम्भाषणमा । नयाँ काव्यकृतिहरूमा ‘प्रयोगात्मकता, गद्यात्मकता, बौद्धिकता र अन्वेषणप्रति मोहको झल्को पाइने’ उनको भनाइ छ ।
उनले नेपाली साहित्यको प्रगतिशील चरित्र र प्रगतिवादउन्मुख विशेषतालाई निकै महत्वका साथ हेरेका छन् । त्यसैले सम्भाषणमा भनिएको छ, ‘आर्थिक अन्याय र विषमताका विरुद्ध, सामन्ती उत्पीडन र पूँजीवादी शोषणका विरुद्ध कविहरूले आवाज बुलन्द गरेको’ छ । यसका साथै ‘काव्यमा पनि आफ्नो अधिकारपूर्तिको माग गरिरहेका जनताको अर्थात् सङ्घर्षक्षेत्रमा अग्रसर भएका जनताको आवाज गुज्रन थाल्यो र थोरबहुत रुपमा नयाँ भाव र नयाँ रुपको त्यो सुमधुर समन्वय प्राप्त भयो जुन गद्यकारहरूले प्राप्त गरिसकेको’ उनको ठम्याइ थियो ।
देवकोटाका दृष्टिमा कवि माधवप्रसाद घिमिरेले बोलचालको सरल भाषामा स्वदेशी पहाडहरूको सम्झना गराउने गहिरा भावहरूको अभिव्यक्ति गर्दछन् र स्वदेशी प्रकृतिको मोहकताको वर्णन गर्दछन् । घिमिरे देवकोटासँगै तासकन्द सम्मेलनका सहभागी थिए ।
देवकोटा भन्छन् ः ‘सन् १९५० पछि, विभिन्न धाराहरूको प्रादुर्भाव नयाँ युगको द्योतक थियो । ‘कला कलाको लागि’ भन्ने सिद्धान्तबाट यथार्थवादतर्फ, रुपको क्षेत्रमा बन्धनबाट मुक्तितर्फ, परम्पराबाट प्रयोगतर्फ र आत्मसन्तुष्टिबाट अन्वेषणतर्फको मोड नै यी सबै प्रवृत्तिहरूको मूल चरित्र हो । रोमाञ्चवादविरोधी धाराको स्पष्ट कार्यक्रम पनि छ । गरिब र उत्पीडितहरूप्रति व्यापक सहानुभूतिको भावनालाई प्रोत्साहित गरिन्छ । नयाँ युगमा नयाँ रुपहरू, ताजा विचारहरू, मौलिक बिम्बहरू तथा सुहाउँदा तुलनाहरूको अनुसन्धान सुरु गरिँदैछ ।’
नेपाली साहित्यको समस्याको इतिवृत
केही पत्रिकाहरूले सुचारु रुपमा काम गर्न नसकेको स्पष्टोक्ति छ देवकोटाको । यी सबै पत्रिकाहरूलाई सरकारको तर्फबाट प्रोत्साहन र आर्थिक सहायताको आवश्यकता रहेको र छापाखाना नहुँदा तथा देश पनि गरिब भएको हुँदा ती छिट्टै फुले, फले र ओइलाएर पनि गएको निष्कर्षमा उनी पुगेका छन् ।
उनले स्वयं यस पत्रलाई ‘सङ्क्षेपमा नेपाली साहित्यको इतिहास’ भनेर स्थान सुरक्षित गराएका छन् ।
देवकोटा भन्छन् ः ‘हाम्रा लेखकहरू फलामेयुगको अवस्थामा बाँचेका छन् । साँच्चै भन्ने हो भने अवस्था ज्यादै नाजुक छ र हामी लेखकहरू शिक्षाको विकास, जनताको अभिरुचिको विकास र हामीप्रति (को) नयाँ सम्बन्धमाथि पूर्णतः निर्भर छाँै ।’ आजभन्दा ५६ वर्षअघि उनले देखेको यो परनिर्भता अझै घटिसकेको छैन । आशावादी देवकोटा भन्छन् ः ‘लेखकहरूसमक्ष नयाँ क्षितिज खुलेको छ, उदासीनताको युग समाप्त हुँदैछ र बिस्तार–बिस्तार कला र साहित्यका अमूल्य निधिहरूको उचित कदरको युग सुरु भइरहेको छ ।’
परम्परालाई हेर्ने वैज्ञानिक दृष्टिकोणः
रामायण र महाभारतजस्ता ग्रन्थहरूमा काल्पनिक प्रतीकहरूको माध्यमबाट जीवनको अति व्यापक व्याख्या प्रस्तुत गरिएको र त्यसका पछाडि ‘दार्शनिक नीति लुकेको’ व्याख्या गर्दै देवकोटाले ‘यी कविहरूले आफ्ना नायकको नाउँ नलिइकनै र आफूले चित्रित गरेका घटनाहरू घटित भएका ठाउँको पनि सङ्केत नदिइकनै आफ्नो कल्पनामा वास्तविकताको सिर्जना’ गरेको तथ्य उद्घाटन गरेका छन् । ‘परन्तु वर्णनातीत उत्कृष्टताको बाबजुद पनि यी कृतिहरू पण्डित–पुरोहितहरूका हातमा परेपछि सर्वसाधारण र अनपढ जनसमुदायको उत्पीडनको नयाँ साधन बन्न पुगेका थिए । पुरोहितहरूले काव्यलाई आराध्यवस्तुमा परिणत गरे, तर आन्तरिक सारतत्वलाई नबुझिकनै त्यसको बाहिरी रुपतत्वलाई मात्र ग्रहण गरेका थिए । यसले गर्दा यी कृतिहरूको भद्दा आदर्शीकरण हुन गयो । प्रकृतितर्फ फर्कनाका लागि लत र परम्पराको ह्रासोन्मुख असरका विरुद्ध लामो र अथक सङ्घर्षको आवश्यकता पर्दछ ।’
समाजवादी यथार्थवादको पक्षपोषणको लिखतः
देवकोटा रोमाण्टिक धाराका उन्मुक्त पन्छीजस्ता कविका रुपमा बढी चर्चामा ल्याइन्छन् र अघि उनको स्वीकारोक्तिबारे पनि उल्लेख गरिसकिएको छ । तर, जीवनको उत्तराद्र्धमा उनी क्रान्तिकारी आदर्शतर्फ पूरै झुकेका थिए । समयको गतिशीलतालाई बुझ्ने अद्भुत क्षमताका धनी भएकाले उनले जनताका  सरोकारका विषयलाई अहं महत्व दिएका थिए । त्यसैले उनी भन्छन् ः  ‘मात्र जीवनप्रति रोमाञ्चवादी सम्बन्धले पूँजीवादी र सामन्तवादी समाजमा मात्र स्थान पाउँछ जहाँ धनी मानिसहरू कविहरूलाई ऐेशआराममा डुबाउनु र भ्रष्ट पार्न समर्थ हुन्छन् । परन्तु आकर्षणको मिहिन जालले भोका, अभावग्रस्त र सङ्घर्षशील मानिसहरूलाई सन्तुष्टि प्रदान गर्न सक्दैन । यसै कारण सर्वसाधारण मानिसहरू व्यक्तिवाद, अन्धराष्ट्रवाद, कूपमण्डुकता र विद्वेषलाई धनीमानीहरूको साहित्यिक खेलबाड र मनोरञ्जनको रुपमा विचार गर्दछन् ।’
कल्पनाको उडान र  रोमाण्टिक धाराका कविहरूको चर्चाको बलियो परम्परा विद्यमान छ । रोमाण्टिक धारा यथार्थवादको तहमा ओर्लने पनि गरेको हुन्छ । यथार्थवादले रोमाण्टिक धाराका विरुद्ध गएर नयाँ मार्ग खोजे पनि वस्तुतः रोमाण्टिक धाराको गर्भबाटै यथार्थवाद र यथार्थवादको गर्भबाटै समाजवादी यथार्थवाद जन्मेका हुन् । देवकोटाको मूल्यांकनमा पहिल्यै उच्चारण गरिने नाम हो अंग्रेज कवि विलियम वर्डस्वर्थको । तर यस सम्भाषणले उनमा आएको दृष्टिकोणको ठूलो परिवर्तनलाई पुष्टि गर्दछ र उनी वैचारिक स्तरमा पहिले यथार्थवाद र अन्ततः समाजवादी यथार्थवादको कित्तामा प्रवेश गरिसकेको दृष्टान्त प्रस्तुत गर्दछ । यसै दस्तावेजमा उनले भनेका पनि छन्ः ‘चराले जस्तै साहित्यले पनि सुरुमा पृथ्वीमा नै चारा नबटुलीकन आकाशमा उच्च उडान गर्न सक्दैन ।’
थप उदाहरणका लागि तासकन्द सम्भाषणको यस महत्वपूर्ण अंशलाई उद्धरण गर्न सकिन्छः ‘अहिले पनि हामीकहाँ प्राकृतिक सौन्दर्यका (र) धनीमानीहरू तथा सामन्तहरूको उदारताको प्रशंसा गर्ने खालका अनेकौँ कृतिहरू लेखिन्छन् । परन्तु साहित्यका क्षेत्रमा पनि विज्ञान र जिज्ञासाका भावनाले प्रवेश गरिरहेको छ र अभिव्यञ्जनाका जराजीर्ण रुपहरू र माध्यमहरूप्रति असन्तोष पनि व्यक्त गरिँदैछ । व्यक्तिको चेतनामा परिवर्तन आएको छ र त्यो व्यापक पनि भएको छ ।’
उनले लेखकहरूको विश्वदृष्टिकोण फराकिलो भइरहेको चर्चा मात्र गरेका छैनन् साथसाथै लेखकहरूले साहित्यको सामाजिक उपयोगिता र सौन्दर्यको सामञ्जस्यपूर्ण समन्वयमा विशेष ध्यान दिन थालेको बताएका छन् ।
देवकोटाले यस अति नै महत्वपूर्ण दस्तावेजमा साहित्य ‘जीवनका निम्ति र विनाशका विरुद्ध, सहअस्तित्वका निमित्त र सैनिकका आक्रमणका विरुद्ध, राष्ट्रिय स्वाधीनताका निमित्त, उपनिवेशवाद तथा सामा्रज्यवादका विरुद्ध आधुनिक मानव जातिका महान् सङ्घर्षले जागरुक जनतामा शक्तिशाली समर्थन पाउन थालेको अवस्थामा साहित्य कुनै एक वर्गको सौखको विषय बन्न नसक्ने’ उद्घोष गरेका छन् । एकप्रकारले यो प्रगतिशील नेपाली साहित्यको घोषणापत्र बन्न पुगेको छ ।
उनी भन्छन् ः ‘अब त यो एक शक्तिशाली सामाजिक र राष्ट्रिय हतियार भएको छ । साहित्यले अन्तर्राष्ट्रिय स्थितिमा लाभदायी र मानवतावादी प्रभाव पारिरहेको छ । संसार यस्ता कृतिहरूद्वारा भरिपूर्ण छ जसमा इष्ट अथवा अनिष्टको जोडदार चर्चा गरिन्छ । दृष्टिकोणमा परिवर्तन आइरहेको छ । जातिभेदवादको सङ्कटको भावना र नैतिक उत्तरदायित्वको भावनाले आफ्नो अभिव्यक्तिका नयाँ–नयाँ बाटाहरू पैल्याउँदैछन् र साहित्यमा प्रवेश गर्दैछन् । बढी उच्चस्तरीय मापदण्डहरू, नवीनतम बिम्बहरू र ताजा रुपहरूको खोजी गरिँदैछ, नयाँ–नयाँ प्रयोगहरू हुँदैछन् । नेपालको जागृति व्यापक भइरहेको छ र एशियाको नवजागरणका लहरमा नेपालको कला र साहित्यले पनि आधुनिक युगमा प्रवेश गरिरहेको छ ।’
देवकोटाको विचारमा आधुनिक लेखकले आफूलाई विश्वको एउटा जीवित र सबल अङ्गका रुपमा अनुभव गर्दैछ । संसार साँगुरिँदै गइरहेको छ र एउटा साझा घरमा परिणत भइरहेको छ । लेखकले पनि व्यापक अन्तर्राष्ट्रिय जगत्मा, नयाँ संसारमा उसले भाग लिनुपरेको छ भन्ने कुरा बुझ्दै गइरहेको छ । त्यो संसार मानवतावाद र पारस्परिक समझदारीका सिद्धान्तहरूमा आधारित हुनेछ । व्यष्टिमा समष्टिको खोजी, मानव जातिसँग निरन्तर सम्पर्क बढाउँदै लैजाने प्रयास र स्थानीयताको त्रिपाश्र्वमा विश्वब्रह्माण्डकै भावनाको बोध गर्ने इच्छा यसैको परिणति हो ।
नेपाली साहित्यले नयाँ प्रजातान्त्रिक भावनाको विकासमा योगदान पु¥याएको छ । त्यसले जहानियाँ राणशासन र समन्तवादका विरुद्ध सङ्घर्षको सुरुआत गरेको थियो । यो सङ्घर्ष पूर्ण विजयी भएको छ । वर्तमान समयमा नेपाली साहित्यले मानव अधिकारको उत्तरोत्तर विस्तारका लागि, मानव मूल्यहरूका मान्यताका लागि आवाज उठाइरहेको छ । त्यसका विद्रोही र क्रान्तिकारी स्वरले युगानुयुगको जडता र रुढीबूढीका विरुद्ध, युगौँ पुराना परिस्थितिका विरुद्ध, जातपात र धर्मका भेदभावका विरुद्ध, सामाजिक अन्याय र असामाजिक असमानताका विरुद्ध सङ्घर्षका निम्ति आह्वान गर्दछ । लेखकले अन्यायका विरुद्ध सङ्घर्ष गर्दछ र लाखौँलाख उत्पीडित मानिसहरूप्रति सहानुभूति जगाउँछ, जसका हितहरूप्रति सदैव नै बेवास्ता गरिँदै आएको थियो ।
देवकोटाले यसै सम्भाषणमार्फत् ‘सच्चा लेखकले जनतामा भिज्नुपर्ने, जनताबाट सिक्नुपर्ने’ र ‘समस्त मानव जातिको जीवनबोधका लागि र सबै वर्तमान समस्याहरू तथा घटनाहरूको अनुबोधका लागि जनताको आत्मा खोतल्नुपर्ने’ लेखकीय दायित्वबोध गराएका छन् । यसले नेपाल र विश्वका साहित्यका पाठक विवेचकहरूका अगाडि  उनको बदलिँदो सरोकारको आत्मालाई सजीवताका साथ उपस्थित गरेको छ ।
देवकोटाले लेखकको सामाजिक दायित्वबारे स्पष्ट गर्दै लेखकको स्वतन्त्रता लेखक बसेको समाजकै सामाजिक तथा आर्थिक नियमहरूमाथि निर्भर रहने बताएका छन् र उसले ‘निकट भविष्यमा सामाजिक, आर्थिक प्रणालीमा हेरफेर र दृष्टिकोणको परिवर्तनमाथि ठूलो आशा’ राखेको जानकारी गराएका छन् । यसले लेखकलाई समाजका अति नै संवेदनशील चरित्रबाट विमुख पारी कलाको सामाजिक  दायित्वबाट टाढा राख्ने दुश्चेष्टाबाट सजग रहन हामीलाई मार्गनिर्देश गरेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली साहित्यलाई पु¥याउने सन्दर्भमा उनले ‘व्यापक अन्तर्राष्ट्रिय साहित्यिक क्षेत्रसँग हाम्रो सम्पर्क’ रहन नसकेको यथार्थलाई आत्मसात गर्दै ‘यस्तो सम्पर्क स्थापित गर्नमा सहायक हुने साहित्यिक अनुवादहरूको पनि हामीसित अभाव’ रहेको बताएका छन् । देवकोटाले गहिरोसँग यस्तो कमीको अनुभव गरेको ५६ वर्षपछि पनि अवस्थामा तात्विक अन्तर आइसकेको छैन । राज्य कलासाहित्यप्रति अझै उदासीन छ र आधुनिक दुनियाँका कला आवश्यकताबारे राज्यको स्पष्ट दृष्टि र कार्यक्रम अझै बन्न सकेको छैन ।
तासकन्द सम्मेलनको अर्थ ः
देवकोटाले नेपाली साहित्यका निम्ति तासकन्द सम्मेलन ज्यादै नै उपयोगी सिद्ध हुने आशा गर्दैै नेपालले पनि धेरै कुरा दिन सक्ने र धेरै कुरा ग्रहण गर्न सक्ने निचोड खिचेका छन् । पहिलोपटक यति महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कला अनुहार प्रस्तुत गर्न गएका देवकोटाका लागि निश्चय नै यो एक महत्वपूर्ण बौद्धिक कलाविमर्शको अवसर थियो, र दुनियाँसामु नेपालको छविलाई राख्ने प्रक्षेपक क्षण समेत थियो । सम्भवतः तासकन्द सम्मेलनका सहभागी नेपालबाहेक अर्को कुनै मुलुकको त्यस्तो महान् प्रतिभा त्यहाँ थिएन जो जनताले स्वस्फूर्त रूपले महाकविको उपाधिले विभूषित गरिएको होस् । उनले तासकन्द  सम्मेलनलाई ‘मानव जातिका उत्कृष्ट मगजहरूको समागम’ भनेका छन् ।
देवकोटा नेपाली साहित्यलाई ‘अनन्त हिउँको माझमा जन्मेको’ ठान्छन् र  त्यो ‘कहिल्यै पनि एउटै पर्वतशृङ्खलाहरूको भुलभुलैयामा नबिलाउने’ उनको निचोड रहेको छ । एक प्रकारले यो नेपाली साहित्यको अहिलेसम्मकै विशेष व्याख्या हो । सम्भवतः अन्यत्र र अरु कसैले पनि यसप्रकारको व्याख्या गरेको पाइएको छैन । हिउँजस्तो ठोस बन्ने, बाफजस्तो उड्ने र आकाशमा पुगेर फेरि जमिनमा बर्सने (फर्कने) गतिशीलता र  अपरिहार्यतालाई साहित्यसँग तुल्य बनाउनु साहित्यकै ठोसपन र सामाजिक उपादेयताको महिमा गायन गर्नु हो ।
जहाँ रिमाल अटाएका छैनन् ः
यति स्पष्ट तर बृहत् भन्न सकिने कार्यपत्रमा त्यतिबेलाकै महान् भन्न सकिने रोमाण्टिक धाराका पद्यकवि युद्धप्रसाद मिश्र र लोकतन्त्रवादी क्रान्तिकारी कवि गोपालप्रसाद रिमालको नाम उल्लेख गरेको पाइन्न । ‘नवोदित कवि’ माधव घिमिरे, र ‘युवा कवि’का रुपमा लक्ष्मण लोहनीको समेत चर्चा हुँदा उनीहरू नसमेटिनुुले यति शक्तिशाली दस्तावेज एक प्रकारले त्रुटिरहित हुन भने नसकेको अनुभव हुन्छ । आख्यानमा पनि गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, पुष्करशमशेर, भिक्षु त्यतिबेला महत्वपूर्ण रचनाकार भइसकेका थिए । लाग्छ, देवकोटाले कार्यपत्रलाई कविताकेन्द्रित बनाएका हुन् । त्यस समयको मूल र सर्वाधिक लोकप्रिय विधा निश्चय नै कविता थियो र लेखनाथ र देवकोटाले कविताको मोर्चा सम्हालेका थिए । बाल्यकालको भाषाका रुपमा ‘आख्यान छँदैछैन भने हुने’ सम्मको अभिव्यक्ति दिँदा आधुनिक नेपाली कथाको जग बसिसकेको हुनुपर्ने थियो भन्ने कुरालाई पाठकहरूले स्मरण गर्नैपर्ने छ ।
महान् कृति ः
अंगे्रजीमा लेखिएको यस सम्भाषणको मूलपाठको भाषा निश्चय नै स्तरीय हुनुपर्छ भन्ने कुरा अनुवादका पाठबाट समेत बुझ्न सकिन्छ । यसमा नेपालीलगायत अन्य मुलुकका विभिन्न उन्नत भाषामा लेखिएका साहित्यमा देखिएका सामन्तवाद, साम्राज्यवाद र उपनिवेशवाद विरोधी कलामूल्यको पक्षपोषण गरिएको त छ नै साथसाथै नेपाली साहित्यले लिइरहेको दिशाबारे समेत पर्याप्त प्रकाश पारिएको छ । स्वयं महान् निबन्धकार रहेका महाकविले निबन्धबारे चर्चै नगर्नु भने आश्चर्यको पाटो हो । उनकै सर्वाधिक चर्चित निबन्धकृति ‘लक्ष्मी निबन्धसंग्रह’ सम्बत् २००२ मै आइसकेको थियो र नेपाली भाषा परिषद्का अध्यक्ष पुष्करशमशेरले त्यतिबेलै यसको परिचयात्मक भूमिका लेखेका थिए । नयाँ पुस्तामा अन्य कैयौंको नाम लिने देवकोटाले शंकर लामिछानेको नामै लिएका छैनन् । प्रतिनिधि समालोचकमा हृदयराज शर्माको नाम आइसक्ता पनि यदुनाथ खनाल कतै ‘आदि’ भित्र परेको देखिन्छ । त्यतिबेला पनि शैशवकालमै रहेको नाटकको चर्चा गर्दा उही अवस्थामा रहेको उपन्यास लेखनबारे देवकोटा मौन छन् । माधव घिमिरेका अनुसार, देवकोटाले बालचन्द्र शर्माले तयार गरेको रिपोर्ट आफूसँगै लगेका थिएनन् र उनलाई आफ्नो स्वास्थ्यको चिन्ता थियो (‘ती हाम्रा दिन गैगए’, देवकोटाका आनीबानी ः सं—घटराज भट्टराई) । यी, सायद, यस महान् कृतिका सामान्य सीमा नै हुन् ।
यस सम्भाषणको भाषा देवकोटा स्वयंको हो भन्ने पर्याप्त आधार छन् । रुसी नेपाली भाषा साहित्यका ख्यातनाम अनुवादक कृष्णप्रकाश श्रेष्ठले यस नेपाली पाठमा देवकोटाकै भाषाको विशेषतालाई ज्यूँदो राखेका छन् । उदाहरणका लागि यस वाक्यरचनाको सहायता लिऔं ः ‘म यस्तो सम्मेलनसमक्ष बोल्ने सौभाग्य पाइरहेको छु जहाँ मानव जातिका उत्कृष्ट मगजहरूको समागम छ……..।’
सम्भवतः देवकोटा ती उत्कृष्ट मगजहरूमध्येका पनि उत्कृष्ट मगज थिए तर सम्भाषणको प्रारम्भमै ‘समुद्रको सतहबाट पच्चीस हजार फिटमाथि जुन बेला हामी उडिरहेको थियौं, त्यसबेला जस्तो सौन्दर्य मैले देखें त्यसबाट म ज्यादै नै प्रभावित छु र हाम्रो बाटामा देखिएका सबै प्राकृतिक चमत्कारहरूको बारेमा एउटा काव्यकृति पनि रचना गर्न चाहन्छु’ भनी विश्वसामु वाचा गर्ने उनको त्यो इच्छा पूरा हुन पाएन । १४ सालमा यस्तो वाचा गर्ने महाकवि त्यसको दुई वर्षभित्रै २०१६ सालमा अनन्त यात्रामा गए ।


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com