एउटा कविको हिरोइज्म

राजकुमार बानियाँ

भूपी स्कुलका कान्छा कवि हुन् राबत । साहित्यिक क्लबमा जुनियर सेलिब्रिटी बनिसकेका यी कवि स्टाइलिस लाग्छन् । हलिउड हिरोको जस्तो छ, उनको हुलिया । लामो कपाल अनि कालो गगल्समा उज्याला दाँत देखाएर मुस्कुराइरहने यी कवि डाक्टर–मार्टिनको जुत्ता लगाउँछन् । कहिलेकाहीँ त टाइसुटमै ठाँट्टिन्छन् ।
उनको सदाबहार हेयर स्टाइलमाथि त एक थान निबन्ध नै लेखिन सक्छ । ‘काठमाडौँ आएदेखि मेरो हेयर स्टाइल एउटै छ । एकचोटि कपाल छोट्याउँदा एक जना साथीले जवानमा भर्ती हुन हिँडेजस्तो देखियो भन्यो,’ उनी सुनाउँछन्, ‘मलाई पनि होलाजस्तो लाग्यो । तर, यसको कपीराइटमा मेरो दाबा छैन ।’
गएको साल प्रज्ञा भवनको डबलीमा राबतको असली अवतार देखियो । लिटरेचर फेस्टिबलको अन्तिम दिन कविताका पारखीहरूले साँझ अबेरसम्म उनलाई पर्खिए । अन्तिम श्रोताहरू पाउने ३३ वर्षीय कवि राबतका कविता गतिशील छन्, वाचन कला उम्दा ।
संख्याका हिसाबमा राबतका कविता त्यति धेरै छैनन् । हालसालै उनको पहिलो कवितासंग्रह आएको छ, ‘राजधानी मास्तिरको राजधानी ।’ फिनिक्स बुक्सले छापेको संग्रहमा २५ थान कविता छन् । उनीसँग अब  एउटा मात्र अतिरिक्त कविता छ । त्यो पनि अखबारमा छापिइसकेको ।
जम्मा २६ कविताका मानस पिता राबतको विशेषता के भने, उनका अधिकांश कविता पुरस्कृत छन् । ‘मैले चर्चा कमाउनकै लागि थोरै कविता लेखेको होइन । लेख्न नसकेरै थोरै भएको हो,’ उनी स्वीकार्छन्, ‘आठ–दस वटा पुरस्कार पाएको हुँ कविता लेखेर । कसरी पाएँ भन्ने कुराचाहिँ निर्णायकहरूलाई सोध्नुपर्ला ।’
सुरुआतमा प्रतियोगिताका लागि कविता लेख्दा रहेछन् राबत । चर्चा र पुरस्कारको मात्रा बढेपछि भने उनी ‘अलि सिरियस’ भएका छन् । ०६१ सालदेखि पुरस्कार पाउन थालेका रहेछन् उनले । ‘०५८÷५९ सालदेखि प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा भिड्न थालेको हुँ । ०६८ सालमा आएर तेस्रो भएँ,’ उनी भन्छन् ‘त्यही वर्ष उत्तर अमेरिकामा भएको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव र दाङको राष्ट्रिय कविता महोत्सवमा प्रथम भएँ । देवकोटा शताब्दी काव्य पुरस्कार पनि पाएँ ।’
त्यसो त पुरस्कार पाएका सबै कवि अब्बल हुँदैनन् । राबत एउटा अपवाद हुन् । जिन्दगीमा पहिलोपटक अन्तर्वार्ता दिँदा एक भारतीय कविलाई उनले भनेका रहेछन्, ‘भूपी शेरचनको अभाव पूरा गर्न कविता लेख्छु ।’ नभन्दै उनी भूपीको उत्तराधिकार लिने कविहरूको लाइनमा छन् । स्वीकार्छन्, ‘एकदमै सजिलो भाषामा कविता लेखिदिए भूपीले । सायद अरुका कविताले मलाई तानेनन् ।’ भूपीको जस्तै पाँच हरफे सेल्फ–पोट्रेट छ राबतको ः

यो जिन्दगी…

एक बहुलाहीले
बीच सडकमा उत्तानो परेर
जथाभावी कन्याउँदा जत्ति पनि
मज्जा आएन ।

खुलाइदिऊँँ– राबतको फुलफर्म हो, रामबहादुर तमाङ । राबत बन्नुको खासै लामो किस्सा भने छैन । एकदिन भान्जीले भनिछन्, ‘छ्या मामा, तपाईंको नाम त कस्तो ?’ त्यसपछि उनी सोचमग्न भएछन् । ‘राम्रा लागेका टाइटल कविहरूले सिध्याइसकेछन् । केही दिन रामु लामा ‘भावुक’ लेखेँ । चित्त बुझेन, हटाएँ । फेरि रामु लामा ‘डिप सी’ राखेँ । त्यो पनि केही दिनपछि हटाएँ,’ उनी सुनाउँछन्, ‘अनि आफ्नै नामको सर्टफर्म राखेर हेरेँ, राबत । मज्जा लाग्यो । युनिक पनि ।’
यी तन्नेरी राबतको यात्रा राउटेको जस्तो छ । पुख्र्यौली थलो नुवाकोटको बेलकोट भए पनि उनी बर्दियाको तारातालमा जन्मेका हुन् । उनका बाबु जोगबहादुर तमाङ नुवाकोटबाट चितवनतिर लागेछन् अनि वन फाँडेर सुकुम्बासी टोल बसाएछन् । प्रहरी दिनहुँ आएर घरटहरा भत्काइदिन्थ्यो, आगो लगाइदिन्थ्यो । एकपटक प्रतिकार गर्दा उनका बाबु भीमफेदी जेलमा थुनिएछन् । राबत सुनाउँछन्, ‘भन्न पनि लाज लाग्छ । बाबु जेल गएपछि मेरी आमा दिनभरि अरुका जुम्रा हेरेर साँझ दिदीहरूलाई खोले खुवाउँथिन् ।’


जोगबहादुर अलि बागी परेछन् । खाइपाई आएको सरकारी सिदा एक चौथाइ पिठो बहिष्कार गरी जेलभित्रै आमरण अनसन बसेछन् । त्यसपछि राजा वीरेन्द्रले बर्दियाको तारातालमा सुकुम्बासी बसोबासको प्रबन्ध मिलाइदिएछन् । ७२ घरधुरीको जिम्मा लिएछन् उनले । आफ्नै खर्चमा चारवटा बस रिजर्भ गरी भारतको बाटो हुँदै पुगेछन् ताराताल । त्यसबापत उनलाई प्रत्येकले पाँच कट्ठा जमिन दिने वचन दिएछन् ।
तामाङ रीतिमा मानिसको कुरै छाडौं । देवताले पनि रक्सी घुस खान्छन् । जोगबहादुरले आफ्नो बस्तीमा रक्सी–फ्रि गराएछन् । त्यहीँ रहँदा–बस्दा २०३७ असार ५ गते जुनेली रातमा जुम्ल्याहाका रूपमा जन्मेका रहेछन् राबत । उनका भाइ लक्ष्मण भने जन्मनासाथ बितेछन् । उनका चार दिदी र एक भाइ छन् ।
गाउँमा बन्दुक राबतको घरमा मात्र थियो । गाउँले डराउनु स्वाभाविक थियो । घरमा बन्दुक हुँदाहुँदै एक दिन ढिँडो ओडाल्दा ओडाल्दै गाउँ छाड्नुप¥यो । मामाघरको शरण लिनुप¥यो । उनका पियक्कड बाबुले घरजग्गा बेचिसकेछन् । एक दिन त रिसको झोँकमा आमालाई अगेनाबाट अगुल्टो झिकेर हानेछन् । आमा काखेभाइ च्यापेर भागिछन् काठमाडौँ ।
राजा वीरेन्द्रका नातेदारको ज्ञानेश्वर दरबारमा काम गरेर पेट पालिछन् । त्यो कस्तो दरबार भने ९० सालको भुइँचालोमा जम्मा दुइटा टायल खस्यो रे । आमासँग १० वर्षपछि मात्र राबतको पुनर्मिलन भयो काठमाडौँमा ।
उनका बाबु कहिले ‘डन’ जस्तो छन्, कहिले ‘भगवान्’ । केटाले चिठी लेख्छ भनेर जेठी र माइली छोरीलाई स्कुलै पठाएनछन् । त्यसैले राबत बाबुलाई भनिरहन्छन्, ‘मायालाग्दा क्रूर मानिस ।’ बर्दियाबाट कपिलबस्तुको गोरुसिङे बसाइँ गएछ राबतको परिवार । गुँड सरे पनि दुःख सकिएको थिएन । गरिबी कतिसम्म भने पेट पाल्नका लागि राबतले अरुका जुठा भाँडासमेत मोल्नुप¥यो । स्कुले किताब पढ्दा उनको काँचो मनमा लाग्थ्यो, ‘यति शाश्वत कविता लेख्नेको त सिङ, जुरो उम्रिएको हुन्छ होला ।’
छन्द नजाने पनि राबत टुटेफुटेको लयमा दुई–चार हरफ लेख्थे तर लाजले कसैलाई देखाएनन् । ‘१० कक्षा पढ्दाखेरि साथी श्याम कार्कीको घरमा मुनामदन किताब लडिराखेको रैछ, चोरेर घर लगेँ, खुब भावुक बनाएको थियो, त्यही एउटा किताबले भएभरको साहित्यिक प्यास मेटेको थिएँ,’ उनी सम्झन्छन्, ‘कहिलेकाहीँ त्यही दुःख र भावुकताले कवि बनाएजस्तो लाग्छ । तर त्यत्तिले मात्रै पक्कै होइन । दुःखले कवि भइने भए त हुम्ला–जुम्लाका सबै कवि हुन्थे होलान् ।’
पक्कै पनि दुःखले कोही कवि बन्थ्यो भने गिन्सबर्गभन्दा महाकवि हुनुपर्ने कर्नालीका मान्छे । खासमा दुःख कच्चा पदार्थमात्र हो । गायक हुनलाई स्वर चाहिन्छ, कवि हुनलाई काव्य चेतना । राबत थप्छन्, ‘म दुःख पाएर या खान नपाएर कवि भएको होइन । कवि नभएको भए काठमाडौँमा घर भइसक्थ्यो ।’
बरु राबतलाई ‘वाल पेन्टिङ’ ले कवि बनाएछ । स्कुल पढ्दा पक्की घरका भित्ताहरूमा कोकाकोला, सिमेन्ट वा चाउचाउको विज्ञापन लेखेको घन्टौँ बसेर हेर्दा रहेछन् । त्यसकै सिको गरेर कागजमा राजेश हमाल, सञ्जय दत्त, सुनिल सेठ्ठीहरूका चित्र हुबहु कोर्दा रहेछन् । ‘च्याप्टो ब्रसले पोतेको अक्षरजस्तै बाक्लो, कट निस्कने गरी आफ्नो नाम लेख्थेँ । साथीहरू बाक्लो अक्षरले आफ्नो नाम लेखाउन मकहाँ आउँथे,’ उनी सुनाउँछन्, ‘कारणवश ललितकला पढ्न पाइनँ । त्यही धोको पूरा गर्न एक वर्षजति काठमाडौँमा ब्यानर र साइनबोर्ड लेखेर हिँडेँ । त्यसरी एउटा रहरको अन्त्य गरेँ ।’
खासमा गौतम बुद्ध मावि गोरुसिङेबाट सेकेन्ड डिभिजनमा एसएलसी गरेका राबतले काठमाडौँ भेट्टाएछन्, किशोरकालको अन्तिम वर्ष । उनका सेक्युरिटी गार्ड भिनाजुले गलैँचा कारखानामा काम लगाइदिएछन् सुरुमा । त्यहाँ छ महिना धागो बुनेछन् । त्यसपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज पसेछन् । त्यहाँको पोस्ट थियो, एटेन्डर ।
जुनी फेरिन्छ भनेर बिरामीको मलमुत्र स्याहार्न हिच्किचाएनन् राबत । त्यही पनि उनलाई कम्ता ठूलो जागिर लागेन । सायद हिरोको जस्तो हेयर स्टाइलकै कारण राबतको सरुवा भयो लाइबे्ररीमा । १३ वर्षदेखि राबत त्यहीँ छन्, लाइब्रेरिएनका रूपमा ।
आरआर कलेजमा मेजर अंग्रेजी र म्याथ लिएर पढेछन् आईए । साथीभाइको स्केच उतारेर कलेज फिलगायत खुद्रामसिना खर्च धानेको पनि उनलाई सम्झना छ । पछि ती विषय पढ्न गाह्रो भएपछि उनले संगीत लिएर पढेछन् । उनका गुरु रहेछन् दीपक जंगम र बेनी जंगम । राबत बताउँछन्, ‘जाँचका बेला आफ्नै गुरु भएको भए फेलै गरिदिन्थे । गुरु शौचालय गएका बेला नयाँ जाँचकीले पाससम्म गरिदिएछन् । अहिले त टेबल बजाउनमात्र आउँछ । कहिलेकाहीँ बेसुरा गाइदिन्छु पनि ।’
राजा वीरेन्द्रको वंशविनाश भएको साल एउटा कविता लेखेछन् राबतले । मेडिकल कलेजको वार्षिक पत्रिका ‘आँकुरा’ मा सम्पादक वियोगी बुढाथोकीले अगाडि नै छापिदिएछन् । भनेछन्, ‘तिमी राम्रो कविता लेख्दो रहेछौ ।’ त्यसपछि उनलाई थाहा भयो, ‘म लेखक हुँ ।’ त्यसैले त राबत आफूलाई नेपाल मेडिकल कलेजकै प्रोडक्सन मान्छन् ।
त्यतिबेला मेडिकल कलेजमा पनि थुप्रै लेखक रहेछन् । खासगरी जयराज शर्मा, टीकाराम भण्डारी, सुधा शाही, नीरज भट्टराईजस्ता  एमबीबीएस विद्यार्थी अनि बाबु त्रिपाठी र राबतजस्ता कर्मचारी मिलेर त्यहाँ साहित्य परिवार समेत खोलेछन् ।
..
दुई शृंखलामा वार्ता चल्यो राबतसँग । तर, दुवैपटक सामान्य अवस्थामा भेटिएनन् । राबत कहिले फ्रेस भेटिएलान् भन्ने तर्कना पनि चल्यो मनमा । पहिलोपटक तीन दिनदेखि घरबाहिर रहेछन्, दोस्रोपटक दुई दिनदेखि । ललितपुर, ताल्छीखेलमा स्वप्निल स्मृति, दुतेन्द्र चामलिङ, चन्द्रवीर तुम्बापोलाई छाडेर आएका रहेछन्, छम गुरुङ र विपिन सलामीका साथ । केही घन्टापछि बागबजारको एक भट्टीमै आइपुगे, चन्द्रवीर ।
यस्तो लाग्छ, राबत र रक्सी जन्मजात साथी हुन् । बर्दिया छँदै मच्छडले टोक्छ भनेर दुई वर्षको उमेरमा रक्सी चखाएका रहेछन् बाबुले । पिएर नाच्न पाएनन् भने चित्त दुख्छ उनको । के पनि भन्छन् भने, ‘रक्सी रहर होइन, बाध्यता हो । यी अहिले साथीभाइसँग भेट भयो, पिइयो ।’
एक कप चिया होस् या एक प्याला मदिरा, राबत कवि–कलाकारहरूसँगै पिउन मन पराउँछन् । जागिर र बसोबास जोरपाटीतिर  भए पनि उनी प्रायः बागबजार, गौशाला, ताल्छीखेलतिरै बरालिएका हुन्छन् । उनको साहित्यिक विमर्शका मित्रमण्डली यकिन छैन । कहिले श्रवण मुकारुङ भेटिन्छन् त कहिले वीरेन्द्र राई । ‘साहित्यमा गुट–उपगुट शब्द नै कर्कश लाग्छ मलाई । यसको विम्ब नै नकारात्मक छ,’ उनी भन्छन्, ‘समूह त चुम्बकले चुम्बकीय वस्तु तानेको स्थिति होइन र ?’
रमाइलो के भने, ड्युटी आवर सुरु भइसक्दा पनि मित्रमण्डलीबाट छुट्टिने मेसो पाउँदैनन् राबत । जागिरे जीवन र साहित्यिक जीवन कसरी चलेको छ भनी एकछिन घोत्लिनुपर्ने स्थिति पनि छ । ‘अराजकभन्दा पनि अलि बढी लहडी छु । साथीहरूसँग बसेपछि बिनाखबर पाँच–छ दिनसम्मै कोठामा नजाँदोरैछु कहिलेकाहीँ । अफिसमा हाकिमले र घरका मान्छेले गाली गर्दा पो होश खुल्छ,’ उनी भन्छन्, ‘सबै कविमा अलिअलि पागलपन त हुन्छ नै । तर, अराजक नै हुन्छु भनेर कहिल्यै पनि हिँडेको छैन ।’
कतिसम्म भने केटी माग्न जानु थियो भोलिपल्ट । अघिल्लो दिन राति भ¥याङमा ठोक्किएछन् । ‘बिहान उठेर ऐना हेर्दा त अगाडिका दुइटा दाँत नै छैन । म त मेरी बास्सैको माग्ने बुढाजस्तो भएछु,’ उनी सुनाउँछन्, ‘यसमा सरकारको दोष छैन । आफ्नै गल्ती छ ।’
मातेपछि दुःखका प्रसंग पनि आइहाल्छन् । राबत त्यसमा गुनासो गर्दैनन्, बरु रोइदिन्छन् । ‘मलाई त रुन पनि टाइम लाग्छ । दस मिनेट समय मागेर धुरुधुरु रुन मन लाग्छ,’ उनी भन्छन्, ‘कहिलेकाहीँ  कस्तो लाग्छ भने म गैँडाको छाला भइसकेको छु । काउकुती पनि छ महिनापछि मात्र लाग्छ ।’
भट्टीमा गफगाफ चल्दाचल्दै दीपक सापकोटाको फोनमा समीक्षक हरि अधिकारी बोल्छन्– ‘राबत र नीरजका कविता पढेँ । राबत राम्रा कवि हुन् ।’ … किन हो, राबत हाँस्न थाल्छन् । लाग्छ, हाँस्नु ठूलै कलाबाजी हो । यसो पनि भन्छन्, ‘हाँस्नलाई किन कन्जुस्याइँ गर्ने ? कुकुर, बिरालो, माउसुलीले हाँस्न जानेका छैनन् । डल्फिनसम्मले हाँसो बुझ्छ । सामथ्र्य छ भने भोको पेटमा पनि हाँसे हुन्छ । हाँस्नलाई पैसा तिर्नुपर्दैन कसैलाई ।’
कविका रूपमा रोचक र अविस्मरणीय क्षण थुप्रै छन् उनीसँग । दाङको प्रतियोगितामा कविता वाचन गरिसकेपछि चियापानका बेला कवि ज्योति जंगलले भनिछन्, ‘राबत भन्ने एकजना कवि काठमाडौँमा पनि छ, उसले धेरै राम्रा कविता लेख्छ ।’ उनले सम्झाएछन् ‘दिदी, त्यो राबत मै हुँ !’ ज्योतिले जिद्दी गरिछन्, ‘हैन हैन, ऊ अर्कै हो । उसको कविता मैले हाम्रो मोनालियामा पनि छापेको छु ।’ उनले छापिएको कविता सुनाएपछि बल्ल ज्योतिले पत्याइछन् ।
उत्तर अमेरिकावाला पुरस्कारबापत एक हजार डलर (नेरु ८० हजार) पाएछन् उनले । ‘साथीहरूलाई पार्टी दिँदादिँदा ९० हजार सकिएछ,’ उनी भन्छन्, ‘उल्टो १० हजार सापटी गरेर ऋण तिर्नुप¥यो ।’ पहिलोचोटि प्रज्ञा भवनमा कविता वाचन गर्नुपर्दा सकस प¥यो उनलाई । ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेसामु वाचन गर्न डर लागेर त्यत्तिकै फर्किन लागेको थिएँ । एक साथीले बाहिर लगेर एक क्वाटर भोड्का खुवायो अनि मात्र आँट आयो,’ उनी भन्छन्, ‘कविता वाचन त गरेँ, तर कविताका हरफ नै छुटाएछु ।’
..
साहित्य न वन म्यान इन्डस्ट्री हो, न त यहाँ कुनै चोर बाटो छ । कविको शक्ति भनेकै शब्द हो । पाठकीय आँखामा राबत युनिर्भसलभन्दा पनि अर्गानिक कवि लाग्छन् । एक हिसाबमा उनले भूपी शेरचनकै परिचित र लोकप्रिय शैली पछ्याएका छन् । ‘मैले आफूलाई फरक देख्नुभन्दा पनि अरुले देखेका छन् कि छैनन्, मुख्य प्रश्न यही हो,’ उनी भन्छन्, ‘फरक नै छुट्टिने गरी त सायद मैले लेख्न सकेको छैन । आफ्नो छुट्टै ट्रेडमार्क बनाउने कोसिसचाहिँ गर्छु ।’

एउटै बोटको
फरक हाँगामा फुलेको फूलझैँ
एउटै परिधिमा रहेर पनि
तिम्रो र मेरो मिलन
नचुँडिएसम्म सम्भव छैन । (दूरी)

लाग्छ, कठोर सत्यको खोजीमा लवलीन छन् राबत । ‘एउटा सिंगो कविताले पाठकलाई कुन तहसम्म झंकृत पार्न सक्छ, कविको सफलता त्यसमै छ,’ उनी थप्छन्, ‘कहिलेकाहीँ कवि आफ्नै लयमा, आफ्नै एकलकाँटे दर्शनमा हिँड्दा पाठक छुटेको थाहा पाइँदैन । पाठक छुट्नु भनेको कविता बिरामी हुनु या मृत हुनु बराबर लाग्छ ।’
समकालीन कविमध्ये स्वप्निल स्मृतिका फ्यान रहेछन् राबत । ‘जुन दिन स्वप्निल स्मृतिको कविता फुटकर रूपमै पढेँ, त्यो दिनदेखि म उसको फ्यान हुँ,’ उनी लुकाउँदैनन्, ‘म उसको स्वच्छ इश्र्या पनि गर्छु । सायद यो मेरो अधिकारभित्र पर्छ कि !’
पछिल्लो पुस्ताका कविलेखक जुर्मुराएको अनुभव छ उनीसँग । ‘अघिल्ला पुस्ताका लेखकहरूले छुटाएका विषय र लोक जीवनमाथि साहित्य सिर्जना भइरहेको छ । आफ्नो संस्कृतिमाथि कविहरू सचेत हुन थालेका छन्,’ उनीको समीक्षा छ, ‘विश्व साहित्यमा हामी कहाँनिर छौँ भनेर खोजीनिती हुन थालेको छ । तर, कहिलेकाहीँ हामीले आफ्नो मौलिकतामाथि विश्वास गर्न नसकेजस्तो लाग्छ ।’
कवि–क्रिकेटर–डाक्टर नीरज भट्टराईले ‘राजधानी मास्तिरको राजधानी’ मा राबतको ब्युटिफुल–पोट्रेट गरेका छन् । बडो भावनात्मक छ भूमिका । ‘रावतले शब्दको संगीत र भावनाको कम्पनलाई कसैगरी आफ्नो पकडमा लिइसकेको छ । उसले कहिले छापिनका लागि, कहिले प्रतियोगिताका लागि, कहिले राजनीतिक पार्टीका लागि, कहिले अरुका लागि र कहिले आफ्नै लागि कविता लेखेको छ । मलाई उसको अन्तिम रूप असाध्यै प्रिय छ ।’
..
विज्ञापनजस्तो लागे पनि लागोस्– राबत अविवाहित छन् । सातचोटि त केटी नै हेरिसकेका छन् । तैपनि प्रेम र सेक्सका जवाफ त्यति भरपर्दा छैनन् । उहिल्यै ट्युसन पढ्न जाँदा एक केटीले उनलाई एकतर्फी प्रेम गर्न थालिछन् । तर, उनको आफ्नै घमण्डका कारण प्रेम सफल भएनछ ।
तिनी अहिले दुई बच्चाकी आमा भइसकेकी छन्, प्रेम उत्तिकै छ । ‘अब मेरो माया डिजिटल होइन, स्प्रिच्युअल माया हो । उनलाई एक कप चिया खुवाउँदा म तीनवटा संसार बाँच्छु,’ उनी भन्छन्, ‘प्रेमिकालाई त माया पो गरिन्छ, सेक्स कहाँ गरिन्छ ?’
पात्रोको हिसाबमा भ्यालेन्टाइन डेको भोलिपल्ट । उनले दर्जनाँैपटक गुन्गुनाए, ‘के भूल भयो प्रिया मसँग बोल्दिनौँ ?’ जमघटमा उनले मित्रमण्डली देखेर यो गीत भट्याएनन् भने मित्रमण्डली आफैँ उनलाई देख्ने बित्तिकै अन्तरा थपेर भट्टाइहाल्छन् । यो त राष्ट्रिय गानजस्तै  भइसकेको छ उनका लागि ।
यस्तो लाग्छ, राबत प्रेमको चक्करमा पर्नेवाला छैनन् । ‘अब म आई लभ यु भन्दिनँ । डु यु म्यारी मी भन्छु,’ उनी भन्छन्, ‘म प्रेम र मागीबीचको विवाह गर्न चाहन्छु, जसको नामै छैन ।’ हुन त सेक्स प्राइभेट अफेयर हो । तर, नगरकोटी जिन्दावाद शैलीमा उनले बेलिबिस्तार लगाए, ‘पहिलो सेक्स त के हो के हो ? डाक्टरहरूले मलाई गार्ड बस्न लगाए । आफ्नो काम तमाम भएपछि मेरो पालोमा धोका दिएर घर हिँडेछन् । बिहान ब्युँझँदा त म बाग्मती किनारमा थिएँ एक्लै ।’
दोस्रो सेक्स पनि सम्झन लायक रहेन । ‘म पसिनैपसिना भएको छु, केटी भने फोनमा एकछिन सपिङमा छु, आइहाल्छु भनिरहन्छे,’ उनी थप्छन्, ‘तेस्रो सेक्स त झन् सबैले देखेर बेइज्जत भयो ।’ यसमा थप प्रसंग सोध्न आवश्यक परेन ।

..

छुटाउन नहुने प्रसंग के छ भने, राबतको फस्ट लभ गजल हो । उनका दुई संग्रह छन्, ‘यस्तो बेलामा’ (२०६७) र ‘एक सय एक रहरहरू’    (२०६४) बाबु त्रिपाठीसँग । उनका केही गजल रेकर्ड पनि भएका छन् ।
उनका लागि गजल एउटा अम्मल हो । आफ्नो सुविधामा गाँजा, अफिम, मर्फिन, कोकिन भने हुन्छ । ‘अहिले म कविताको ध्याउन्नमा छु,’ उनी भन्छन्, ‘यसको मतलब गजल लेख्न छाडेको हैन, विषय दोहोरिएला भनेर ग्याप राखेको हुँ । जेबाट सन्तुष्टि मिल्छ, म त्यही लेख्छु ।’
राबतको आफ्नै गजलमण्डली छ । गजलमा पनि राबत एक प्रख्यात पियक्कड लाग्छन् । उनका गजलमा सुरा, सुन्दरी र समाज सबथोक अटाएको छ । रक्सी, मात, बोतल, भट्टीमा यस्तै नादहरू छन् ।
सरकारले मेरो घरको तलासी लि“दा
एउटा कलम र एउटा बोत्तल पाएछ
– – –
एक्लैले सिंगै भट्टी रित्याएर गएछ
त्यस्तो मान्छे को थियो ? अनुमान गर्नुहोस्
आफ्नो साहित्यिक भविष्यबारे राबत केही जान्दैनन् । तथाकथित भविष्यलाई भविष्यकै हातमा राखिदिएका छन् उनले । कविता वा गजलबाहिर हामफाल्ने मानसिकता पनि बनाएका छैनन् । ‘हेरौँ साहित्यमा कुन तहसम्मको लाइसेन्स मिल्छ ?’ उनी भनिरहेका छन्, ‘चारपाङ्ग्रेको लाइसेन्स मिलेपछि एउटा चालकले छपाङ्ग्रे, दसपाङ्ग्रेको पनि चाह राख्न सक्छ ।’ क्याबात् राबत ! क्याबात् !


Pandulipi Team

सल्लाहकार सम्पादक
राजकुमार बानियाँ

अतिथि सम्पादक
संगीतश्रोता
विनोदविक्रम केसी
गुरुङ सुशान्त
फणीन्द्र संगम

संस्थापक सम्पादक
दीपक सापकोटा

फोटो सम्पादक
आरके अदीप्त गिरी

प्रधान सम्पादक
विष्णुकुमार पौडेल
9841367749

बजार व्यवस्थापक
विपिन अनुरागी

 

Join Us in Fb

Visit Counter:

Follow Us in Twitter

Contact Us

Indigo Ink Pvt. Ltd.

Adwaitmarg, Bagbazar, Kathmandu

Phone: 9851078518

indigoink49@gmail.com

रचनाकोलागि  info@pandulipionline.com